काठमाडाैं । नेकपा एमालेका सांसद् खगराज अधिकारीले शान्ति प्रक्रिया टुंग्याउन सरकारले ल्याएको विधेयकमाथि एमालेको गम्भीर आपत्ति रहेको बताउनुभएको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् अधिकारीले द्वन्द्व पीडितमाथि थप पीडा दिनेगरी सरकारले विधेयक ल्याएको बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'सर्वाेच्च अदालतकाे निर्णय र मानअधिकारसम्बन्धी प्रतिबद्धताहरु,द्वन्द्वरत दुबै पक्षले मानव अधिकारका गम्भीर उल्लंघन गरेका कुराहरु ख्याल नगरी विशेष अदालत बनाएर ६ महिनाभित्र सक्ने कुरा आएकाे छ,आज द्वन्द्वका घाउमा पीडित भएका बेपत्ता भएकाहरुकाे पीडामाथि नुनचुक थप्नेगरी चाेचाे मिलाएर जुन काम गर्न खाेजिएकाे छ,यसप्रति हाम्राे गम्भीर आपत्ति छ ।'
द्वन्दकालीन अवस्थामा गिरफ्तार गरेपछि बलात्कार गर्ने, हत्या गर्ने, हतियारको प्रयोग गर्ने कुरा दुवै पक्षबाट भएकाले यसमा कसैलाई छुट दिन नहुने उहाँकाे भनाइ छ । सांसद् अधिकारीले द्वन्दरत दुवै पक्षले मानवअधिकारको गम्भीर उलंघन गरेका कुरा र विशेष अदालत बनाएर ६ महिनाभित्र महान्याधिवक्ताले सक्ने जस्ता कुराले पीडितहरूलाई थप पीडा दिने देखिएको बताउनुभयो । सर्वोच्च अदालतको निर्णय, अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी प्रतिबद्धतालाई ख्याल गर्नुपर्ने पनि उहाँले बताउनुभयाे ।
