काठमाडौं । राष्ट्रिय सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गर्नुभएकाे नागरिकता विधेयक पेस गरिने सम्भावित कार्यसूची छ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले पुनर्विचारका लागि फिर्ता पठाइएको विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा र प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराउनुहुने संसद् सचिवालयले जनाएकाे छ ।
नागरिकता विधेयक प्रतिनिधि सभाबाट भने पारित भइसकेकाे छ । बैठकमा 'नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९' का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराइने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
सचिव फुयाँलले नै प्रतिनिधि सभमा उत्पत्ति भई सो सभाबाट पारित भएका 'बीमा विधेयक, २०७५', 'पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६', 'सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ सम्बन्धी प्रतिनिधि सभाबाट प्राप्त सन्देश र राष्ट्रिय सभाले पारित गरी प्रतिनिधि सभामा पठाइएको 'सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६' लाई प्रतिनिधि सभाले संशोधनसहित फिर्ता पठाएको सन्देश सभासमक्ष टेबुल गर्नुहुनेछ ।
राष्ट्रिय सभाले पारित गरी सन्देशसहित प्रतिनिधि सभामा पठाइएका 'शपथसम्बन्धी विधेयक, २०७८', 'तथ्यांक विधेयक, २०७६', 'स्ट्याण्र्डड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७६' र 'प्रत्यायन विधेयक, २०७६' का बारेमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले 'योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९' माथि प्रतिनिधि सभाबाट भएको संशोधन माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
