काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाउनुभएकाे नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभामा पेस भएकाे छ ।
आइतबार बसेकाे राष्ट्रिय सभाकाे पहिलाे बैठकमा साे विधेयक पेस भएकाे हाे । आजै बसेकाे राष्ट्रिय सभाकाे दाेस्राे बैठकले साे नागरिकता विधेयकलाई पुर्नविचारका लागि संसदीय समितिमा पठाएकाे छ ।
दाेस्राे बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गृहमन्त्री बालकृष्ण खाँडलाई साे विधेयक विधायन व्यवस्थापन समितिमा पुर्नविचारका लागि पठाइयाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिनुभएकाे थियाे ।
अध्यक्ष तिमिल्सिनाले साे प्रस्ताव निर्णयार्थ पेस गर्नुभएकाे थियाे । त्यसपछि उहाँले नागरिकता विधेयक पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयाेस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएकाे घाेषणा गर्नुभयाे । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते बस्नेगरी स्थगित भएकाे छ ।
प्रतिनिधि सभाबाट दाेस्राे पटक पनि जस्ताकाे तस्तै पारित भएकाे साे विधेयक राष्ट्रिय सभाले भने विषयगत समितिमा पठाएकाे छ । समितिले अब राष्ट्रपति विद्यादेवी भण्डारीले पुर्नविचारका लागि उठाउनुभएका विषयमाथि छलफल गर्नेछ । समितिले त्यसमा छलफल गरेर प्रतिवेदन दिन सक्नेछ । त्यसपछि राष्ट्रिय सभाले साे विधेयकमा निर्णय लिनेछ ।
त्यसअघि राष्ट्रिय सभाकाे पहिलाे बैठककाे सुरुमै राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकका सम्बन्धमा प्राप्त पत्रको व्यहोरा बैठकलाई जानकारी गराउनुभएकाे थियाे । बैठकमा 'नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९' का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी पनि गराइएकाे थियाे ।
