काठमाडाैं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भाेलि पनि बयान लिने भएकाे छ ।
सिंहदरबार बुधबार बसेकाे समितिकाे बैठकमा बयान नसकिएपनि भाेलि पुन: बयान लिने निर्णय भएकाे समितिले जनाएकाे छ । महाअभियाेग सिफारिस समितिकाे बैठक बिहान ११ बजेका लागि बाेलाइएकाे छ ।
समितिले तयार पारेका प्रश्नमध्ये जबराले आज ४ वटा प्रश्नकाे मात्र जवाफ दिनुभएकाे बताइएकाे छ । जबरामाथि उठेका केही प्रश्नबारे समितिमा सवालजवाफ भएको र बिहीबार पुन: बयान हुने सांसद्हरुले बताएका छन् । समिति सदस्य एवं कांग्रेस सचेतक मीन विश्वकर्माले बयानको पहिलो दिन चार वटा प्रश्नमा छलफल भएको र सांसद्हरुको प्रतिप्रश्न आएको बताउनुभयो ।
समिति सदस्य एवं माओवादी केन्द्रकी सांसद् रेखा शर्माले बयान केही दिन लम्बन सक्ने बताउनुभयो । समिति सदस्य एवं एमाले सांसद् कृष्णभक्त पोखरेलले बयानपछि समितिले सत्यतथ्य निष्कर्ष निकाल्ने बताउनुभयो ।
बयानका क्रममा जबराले आफूमाथि महाअभियाेग किन लगाइयाे भनेर प्रश्न उठाउनुभयाे । आफूले गरेका सबै फैसला र अदालती काम संविधानले दिएको अधिकार र न्यायालयको मर्यादाअनुसार नै भएको जबराले प्रष्ट पार्नुभयाे । आफूले संविधान भन्दा बाहिर गएर कुनै काम नगरेको र महाभियोगको प्रक्रिया पनि नमिलेको भन्दै उहाँले आपत्ति जनाउनुभयाे ।
आफूमाथि लगाइएकाे महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भएको पनि उहाँले । संसदीय नियम, कानुन र अभ्यासको पालना नभएको र प्रचलित कानुनअनुसार आफ्नो महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको भन्दै उहाँले संसद्को सम्मानका लागि मात्रै आफू समितिमा बयानका लागि आएकाे जबराकाे भनाइ थियाे ।
कुनै एक व्यक्तिलाई प्रधानन्यायाधीश बनाउनकै लागि आफूमाथि महाअभियोग प्रस्ताव दर्ता भएको समेत जबराले बताउनुभयाे । न्यायालयलाई राजनीतिमा तान्ने काम दलहरूले नै गरेका उहाँकाे भनाइ थियाे । महाभियोगलाई संसद्ले समयमा नै किनारा नलगाएको भन्दै जबराले कडा आपत्ति जनाउनुभयो ।
