काठमाडाैं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संविधान र कानुनबाहिर गएर आफूले कुनै काम नगरेको प्रष्ट पार्नुभएको छ ।
बुधबार सिंहदरबारमा बसेकाे महाअभियोग सिफारिस समितिको बैठकमा आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा जबराले विधि र पद्धतिअनुसार नै आफूले काम गरेकाे प्रष्ट पार्नुभयाे । आफूले गरेका सबै फैसला र अदालती काम संविधानले दिएको अधिकार र न्यायालयको मर्यादाअनुसार नै भएको उहाँकाे भनाइ छ ।
आफूले कसैकाे दबाब र प्रभावमा परेर कुनै पनि काम नगरेकाे भन्दै निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथि महाअभियाेग किन लगाइयाे भनेर प्रश्न गर्नुभयाे । प्रतिनिधि सभा विघटनकाे मुद्दामा फैसला गर्ने अरु पक्षलाई छाेडेर आफूलाई मात्र महाअभियाेग लगाउनुकाे कारण समेत उहाँले माग गर्नुभयाे - 'त्यो फैसला गर्ने अरु न्यायाधीश छाडेर महाअभियोग म विरुद्ध मात्रै किन लगाइयो ? अरु चारजना विरुद्ध किन गरिएन ?-जबराकाे प्रश्न छ ।
महाअभियोगको प्रक्रिया नमिलेकाे र महाभियोगलाई संसद्ले समयमा नै किनारा नलगाएको भन्दै उहाँले कडा आपत्ति जनाउनुभयो । संसद्बाट आफूमाथि अन्याय भएको भन्दै जबराले आफू न्याय माग्नका लागि समितिमा उपस्थित भएको बताउनुभयाे ।
संसदीय नियम, कानुन र अभ्यासको पालना नभएको तथा प्रचलित कानुनअनुसार आफूमाथि लगाइएकाे महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको जबराकाे दाबी थियाे । महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भइसकेकाे भन्दै जबराले संसद्को सम्मानका लागि मात्रै आफू समितिमा उपस्थित भएको पनि बताउनुभयाे । 'यति गम्भीर विषयमा पनि संविधान र नियमावली किन पालना गरिनएन ? यो प्रस्ताव निष्क्रिय भइसकेको छ,अब यसको औचित्य सकियो'-उहाँकाे भनाइ छ ।
कुनै एक व्यक्तिलाई प्रधानन्यायाधीश बनाउनकै लागि आफूमाथि महाअभियोग प्रस्ताव दर्ता भएको समेत जबराले बताउनुभयाे । न्यायालयलाई राजनीतिमा तान्ने काम दलहरूले नै गरेका उहाँकाे भनाइ थियाे ।
