काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिस समितिमाथि नै प्रश्न उठाउनुभएकाे छ ।
सिंहदरबारमा बिहीबार बसेको समितिकाे बैठकमा दोस्राे दिन बयान दिने क्रममा जबराले महाभियोग सिफारिस समितिको औचित्यमाथि नै प्रश्न उठाउनुभएकाे हाे ।महाभियोगमा प्रस्तावक रहेका सांसद् छानविन समितिमा रहनु न्यायोचित नभएको भन्दै उहाँले समितिको औचित्यमाथि नै प्रश्न उठाउनुएको हो ।
प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोप निराधार रहेको जबराले बताउनुभयाे । आफूमाथि लगाइएका आरोप तथ्यहीन भन्दै उहाँले संविधान र नियमावली देखाउँदै महाभियोग प्रस्तावको कुनै औचित्य नभएको बताउनुभयाे । चाेलेन्द्रलाई आज २ वटा प्रश्न साेधिएकाे थियाे । बुधबार जबरालाई ४ वटा प्रश्न साेधिएकाे थियाे ।
समितिका सभापति रामबहादुर विष्टले अर्को बैठक आइतबार बस्ने र थप प्रश्न सोधिने जानकारी दिनुभयो । जबरा प्रश्नको जवाफ दिइरहेको भन्दै विष्टले जवाफबारे पछि छलफल हुने र निष्कर्षमा पुगिने जानकारी दिनुभयाे । मंसिर ४ गते चुनाव हुने भएकाले त्यसअघि नै सबै प्रक्रिया पूरा गरिने पनि सभापति विष्टले बताउनुभयाे ।
छलफलपछि कांग्रेस सांसद् मीन विश्वकर्माले बिहीबार ५ र ६ नम्बरको प्रश्न सोधिएको बताउनुभयो । वयानका क्रममा जबराले आफ्नो बचाउको लागि राखेका विषयलाई समितिले स्वभाविक रुपमा लिएको उहाँले बताउनुभयो । माओवादी केन्द्रकी सांसद् रेखा शर्माले समितिको प्रक्रियाबारे नै प्रश्न उठाएको बताउनुभयाे । संविधान अनुसार नै समिति गठन भएको र सदस्यहरु रहेको आफूहरुको भनाइ रहेकाे उहाँकाे भनाइ छ ।
समितिले जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरेको छ । गत फागुन १ गते जबराविरुद्ध प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो ।
यी हुन् जबरालाई आज साेधिएका प्रश्न ५. संविधानले प्रधानन्यायाधीशलाई अति उच्च विश्वासका साथ प्रदान गरेको संवैधानिक दायित्व पूरा गर्न जबरा अक्षम रहेको, न्यायालयको सारा इज्जत, प्रतिष्ठा, प्रभावकारिता र जनआस्थालाई श्रीवृद्धि गर्ने संवैधानिक दायित्वबाट निज पूर्ण रूपमा विमुख र विफल भएको तथा जबरामा पदीय जिम्मेवारी, संवैधानिक आचरण र नैतिकता एवं कार्यक्षमतासमेत नदेखिएको कारणले निजलाई महाभियोग लगाउनुपर्ने पर्याप्त आधार, कारण एवं अवस्था विद्यमान देखिएको छ भन्ने आरोप छ । यसमा आफ्नो भनाइ खुलाउनुहोस् ।
६. संवैधानिकता परीक्षण गर्न दायर भएका रिट निवेदनहरूको निरूपण समयमै गर्नुपर्ने प्रधानन्यायाधीशको जिम्मेवारीविपरीतका कार्य गरी न्यायमा विचलन ल्याएको आरोपमा भनाइ खुलाउनुहोस् ।
