काठमाडौं । राष्ट्रिय सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे २:५९ बजे बस्ने बैठकमा राष्ट्रपतिबाट पुर्नविचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 'नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९' माथिको छलफल छलफल जारी रहने संसद् सचिवालयले जनाएकाे छ ।
बिहीबारको बैठकमा सांसद्को बोल्ने क्रम नसकिएकाले आजको बैठकमा पनि छलफल जारी रहने भएको हो । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन बिहीबार पेस भएकाे थियाे ।
बिहीबार नै बसेकाे दाेस्राे बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएकाे थियाे । त्यसपछि विधेयकमाथि छलफल सुरुभएकाे थियाे । विधेयकमाथि बाेल्न सांसद्लाई निश्चित समय नताेकिएकाले पनि बिहीबारकाे बैठक लम्बिएकाे थियाे ।
राष्ट्रिय सभाकाे आजकाे बैठकमा गृहमन्त्री खाँडले राष्ट्रपतिबाट पुर्नविचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 'नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९' लाई पारित गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
राष्ट्रपतिले पुनर्विचारका लागि पठाउनुभएकाे नागरिकता विधेयक प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित भएको थियो । प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पनि जस्ताको तस्तै पारित भएको छ ।
