काठमाडाैं । नेकपा एमालेकी सांसद् भगवति न्याैपानेले सत्ता पक्षले प्रतिपक्षलाई पेलेर जान खाेजेकाे बताउनुभएकाे छ ।
नागरिकता राष्ट्रियताकाे विषय भएकाे भन्दै उहाँले यसलाई हल्का ढंगले नबुझ्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
राष्ट्रपति भण्डारीले उठाउनुभएका विषय निक्कै महत्वपूर्ण रहेका भन्दै सांसद् न्याैपानेले ती कुरालाई समेटेर विधेयकलाई टुंगाेमा पुर्याउन माग गर्नुभयाे । अहिलेका राष्ट्रपति विगतमा लाेकतान्त्रिक आन्दाेलनका हस्ती हुनुभएकाे स्मरण गर्दै उहाँले ०६३ जेठ १६ गते महिला अधिकारका सवालमा ४ बुँदे संकल्प प्रस्ताव राख्नुभएकाे बताउनुभयाे । 'म गर्व गर्छु हामी गर्व गर्छाैं त्याे सुनाैलाे इतिहास रच्ने आजकाे राष्ट्रपति ज्यू,जसले महिला अधिकारकाबारेमा संकल्प प्रस्ताव राख्नुभयाे,अन्तरिम संविधानमा समेत लिपिबद्ध भयाे'-न्याैपानेकाे भनाइ छ ।
मातृत्वकाे अस्तित्व स्वीकार नगरी पितृत्वलाई मात्रै केन्द्रित गर्ने व्यवस्था आफूहरुले नै अन्त्य गरेकाे बताउँदै भगवतिले भन्नुभयाे - 'उहाँहरुले गरेकाे प्रस्तावले अन्त्य गरेकाे हाे,महिला आन्दाेलनले उठाएकाे मुद्दा र आन्दाेलनले अन्त्य गरेकाे हाे,राष्ट्रपतिकाे चिन्ता यहि हाे, तर अहिले महिलाकाे आत्मसम्मानमा नै चाेट पुग्नेगरी जसरी स्वघाेषणाकाे प्रावधान राखिएकाे छ यसप्रति हाम्राे गम्भीर असहमति छ ।'
सांसद् न्याैपानेले अंगीकृत नागरिकताका सम्बन्धमा ७ वर्षे प्रावधान, लैंगिक संवेदनशिलताकाे विषय, प्रादेशिक पहिचानकाे विषय समेटेर मात्र विधेयक पारित गर्न सरकारसँग माग गर्नुभयाे ।
विधायन समितिमा बहस र छलफल हुने अपेक्षा गरिएपनि त्याे हुन नसक्नु दु:खद भएकाे न्याैपानेले बताउनुभयाे । सच्चाउन सकिने विषय सच्चाएर जाउँ भन्ने प्रतिपक्षकाे भनाइलाई सत्ता पक्षले वेवास्ता गरेर समितिमा पनि बहुमतकाे बलमा पेलेर अगाडि बढिएकाे भन्दै आपत्ति जनाउनुभयाे ।
गणित मिलाएर, टाउकाे गनेर,टाउकाेकाे हिसाबकिताब गरेर राष्ट्र र राष्ट्रप्रति बेइमानी गर्न खाेजिएकाे भन्दै सांसद् न्याैपानेले कडा आपत्ति जनाउनुभयाे । हिसाबकिताब नै गर्ने भए नागरिकता विधेयक नसच्चाइ पारित गर्दा भाेलि के असर गर्छ भन्ने विषयमा गर्न सरकारकाे गम्भीर ध्यानाकर्षण गराउनुभयाे ।
अनागरिकले नागरिकता पाउनुपर्नेमा एमालेकाे कुनै असहमति नरहेकाे भन्दै उहाँले माटाेप्रति बेइमानी हुनुहुँदैन भन्ने कुरामा एमालेले सचेत गराएकाे प्रष्ट पार्नुभयाे । एमालेलाई सिंगाे देशकाे चिन्ता रहेकाे बताउनुभयाे । हिमाल,पहाड र तराई सबैतिर एमाले संवेदनशिल रहेकाे भगवतिकाे भनाइ छ । मधेशका जनतामाथि अत्याचार भयाे भनेर लड्ने पार्टी एमाले नै रहेकाे भगवतिले प्रष्ट पार्नुभयाे । यस्ताे विषय उठाएर इमाेशनल ब्ल्याकमेल नगर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
गठबन्धन सरकारलले दम्भ र अहंकार देखाएकाे भन्दै सांसद् न्याैपानेले नेपाली जनताप्रति दम्भ र अंहकार नदेखाउन सरकारलाई चेतावनी दिनुभयाे । प्रतिनिधि सभाले विवेक नपुर्याएकाे नागरिकता विधेयकमा राष्ट्रिय सभाले विवेक पुर्यायाे भन्ने सन्देश दिन सरकारलाई उहाँले आग्रह गर्नुभयाे ।
कतिपय सवालमा पार्टीभन्दा माथि उठ्नुपर्ने भन्दै उहाँले पार्टी भन्दा ठूलो राष्ट्रियता हाे भनेर नागरिकताका विषयमा गम्भीर बन्न सत्तापक्षका सांसद्लाई आग्रह गर्नुभयाे । कतिपय विधेयक राष्ट्रपतिसँग पनि सल्लाह गरेर ड्राफ गरिने प्रचलन रहेकाे उहाँले गलत काम गरेर कालाे इतिहास नलेखाउन सरकारलाई चेतावनी दिनुभयाे । सरकारमा हुँदा र बाहिर हुँदा एउटै कुरा गर्ने पार्टी एमाले मात्रै रहेकाे समेत भगवतिले बताउनुभयाे । देशमाथि गद्दारी गर्नेहरुको इतिहास कालो अक्षरमा लेखिएकाे विश्व इतिहास रहेकाे भन्दै सांसद् न्याैपानेले पदको निम्ति, सत्ताको निम्ति गद्दारी गर्नेहरुको इतिहास कालो रुपमा रहने बताउनुभयाे ।
