काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि पठाउनुभएकाे नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभाबाट पनि जस्ताको तस्तै पारित भएको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकबाट विधेयक बहुमतले पारित भएको हो । राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रपतिले पठाएको सन्देशलाई समेट्न आग्रह गरेकाे थियाे । फरक मतलाई समेटेर मात्र विधेयक पारित गर्न सरकारसँग माग गरेकाे थियाे । तर सत्तापक्षले प्रतिपक्षीलाई वेवास्ता गरेपछि राष्ट्रिय सभाबाट विधेयक पनि जस्ताको तस्तै पारित भएको हो ।
राष्ट्रपतिले सन्देशसहित पठाउनुभएकाे विधेयक प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित भएको थियो ।
राष्ट्रिय सभाले भने छलफलका लागि भन्दै विधायन व्यवस्थापन समितिमा पठाएकाे थियाे । समितिले २ दिन छलफल गरेर विधेयक जस्ताकाे तस्तै पारित गर्दै प्रतिवेदन तयार पारेकाे थियाे ।
समितिको प्रतिवेदन बिहीबार बसेकाे राष्ट्रिय सभाकाे पहिलाे बैठकमा पेस भएकाे थियाे । बिहीबार नै बसेकाे दाेस्राे बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएकाे थियाे । त्यसपछि विधेयकमाथि छलफल सुरु भएकाे थियाे । बिहीबार र शुक्रबार छलफल भएपनि विधेयक हुबहु पारित गरिएकाे हाे ।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित गरी प्रमाणीकरणका लागि गत साउन १६ गते राष्ट्रपतिसमक्ष पठाइएको थियो ।
राष्ट्रपति भण्डारीले साे विधेयकमा पुर्नविचार आवश्यक रहेकाे भन्दै साउन २९ गते प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको थियो । राष्ट्रपतिबाट सन्देशसहित फिर्ता साे विधेयक प्रतिनिधि सभाले भदौ २ गते बिना संशोधन जस्ताकाे तस्तै पारित गरेकाे थियाे ।
