काठमाडाैं । नेकपा एमालेका सांसद् गाेकुल बास्काेटाले मिडिया काउन्सिल केही विकृत भएर आएकाे बताउनुभएकाे छ ।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय सभाको सन्देशसहितको 'नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्' भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद् बास्काेटाले साे कुरा बताउनुभएकाे हाे ।
काउन्सिललाई स्वायत्त बनाउन लागि यसको गठन प्रक्रिया पनि सोहीअनुसार हुनुपर्ने उहाँले बताउनुभयाे । सांसद् बास्काेटाले भन्नुभयाे - 'काउन्सिललाई साँच्चै स्वायत्त बनाउने हाे भने साेही क्षेत्रबाट निर्वाचित ३ जना आउनुपर्छ,तर मैले यस्साे हेरेकाेसबै सरकारले मनाेनित गर्ने रहेछ छक्क पर्याछु ।'
हिजाे आफू सञ्चारमन्त्री हुँदा १ लाख जरिवानाकाे प्रावधान राख्दा विराेध गरिएकाेमा आज १० लाख जरिवाना भनेर आएकाे उहाँले बताउनुभयाे । बास्काेटाले भन्नुभयाे - 'हिजाे एक लाखसम्मकाे जरिवाना काउन्सिलले गर्न सक्ने भन्दा माखल उडाइएकाे थियाे, बसीखप्न दिइएन, माइतीघर मण्डलाकाे दुबाे एकदिन पनि सुखले बस्न पाएन,दिनहुँ पानी हाल्दा पनि त्याे रहेन हाेला त्यस्ताे गरिएकाे थियाे,,आज १० लाखसम्म जरिवाना गर्न पाउने भनेर आएछ,एउटै चिजलाई हेर्ने हाम्रा आँखा कस्ता हुन् सभामुख महाेदय ?'
सत्तापक्षमा हुँदा त्यही कुरालाई एउटा र प्रतिपक्षमा हुँदा त्यही कुरालाई अर्काे भन्ने नियत हटाउन उहाँले आग्रह गर्नुभयाे । आचारसंहिता विपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेर कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्याएको देखिएमा त्यस्ता सञ्चारमाध्यम वा पत्रकार तथा प्रकाशकलाई १० लाख रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था विधेयकमा गरिएकाे छ । तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले २०७६ मा पेस गरेको यो विधेयक विरोधका कारण सरकारले फिर्ता लिएको थियो ।
