काठमाडाैं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ पछि पनि संसद्काे आयु कामय राख्न खाेज्नु अनैतिक काम भएकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकलाई सम्बाेधन गर्दै लिङ्देनले आजैबाट लागू हुनेगरी सांसद् पद त्यागेकाे घाेषणा गर्नुभयाे । मंसिर ४ गतेपछि पनि संसदको आयु कायम राख्ने निर्णयले आफूलाई लज्जित तुल्याएकाे उहाँले बताउनुभयाे ।
बाटोबाटै संसद् छाड्नुभन्दा पनि संसद्बाट भन्नु उपयुक्त हुने भएकाले सदनलाई नै सम्बाेधन गरेकाे अध्यक्ष लिङ्देनले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'संसद्को आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने भन्ने ढंगकाे निर्णय गर्ने प्रक्रियाहरु सुरु भएका छन्,त्यसले मलाई साह्रै लज्जित र दुखित तुल्यायो, संसद्मा उभिएर सबैलाई सुनाएर जान उचित हुन्छ भनेर यहाँ उपस्थित भएकाे छु ।'
मंसिर ४ पछि पनि संसद्काे आयु कामय राख्न खाेज्नु अनैतिक काम भएकाे बताउँदै उहाँले भन्नुभयाे - 'अब म संसद्मा आउदिनँ, मेरो नाममा पठाइने तलब भत्ता सुविधा रोक्का गरियोस्, कहीँ कतै लेखेर दिनुपर्छ भने लेखेर दिन पनि तयार छु, यसप्रकारकाे अनैतिक काममा सहभागी हुन मेराे आत्माले मानेन, यी सबै चिज त्याग गर्न उपस्थित भएकाे छु,त्यसैले मैले राजीनामा घोषणा गर्न चाहन्छु ।'
आगामी चुनावपछि एक्लाे सांसद् नभएर बलियाे पार्टीकाे रुपमा उपस्थित हुने घाेषणा पनि लिङ्देनले बताउनुभयाे । आगामी संसद् दलकाे स्वार्थका लागि मात्र निर्णय गर्ने थलाे नबन्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयाे ।
