काठमाठाैं । प्रतिनिधि सभाको आजको बैठकमा विश्वविद्यालय राजनीतिकरणबाट आक्रान्त भएकाले त्यस्तो अवस्थामा सुधार गर्न माग गरिएको छ ।
बैठकमा समय लिएर नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले २०४८ सालदेखि त्रिभुवन विश्वविद्यालयमा भागबण्डाका आधारमा पदाधिकारी चयन गर्ने परम्परा थालनी भएको र यो क्रम नरोकिएकामा चिन्ता व्यक्त गर्नुभयो । नेता प्रधानले विद्यार्थी र पदाधिकारीबीच द्वन्द्व बढेको तथा विद्यार्थीले प्रश्न उठाउँदा मुद्दा लाग्ने अवस्था आएको पनि बताउनुभयो ।
उहाँले राजनीतिक पूर्वाग्रह राख्ने पदाधिकारी नियुक्त गर्दा यसको साख गिर्दो भएकाले यस प्रकारको समस्या समाधान गरी विश्वविद्यालयलाई प्राज्ञिक थलोका रुपमा कायम राख्न आग्रह गर्नुभयो ।
नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल नागरिकता विधेयकबारे राष्ट्रपतिबाट प्राप्त सुझावसहितको सन्देशलाई ग्रहण नगरिएकामा आपत्ति जनाउनुभयो । उहाँले निर्वाचनको मिति घोषणा भइसकेपछि संसद्को बैठक चलाउनु नैतिकरुपमा उचित नहुने पनि धारणा राख्नुभयो ।
महँगी र डेँङ्गु नियन्त्रणका लागि सांसदको ध्यानाकर्षण
बैठकको शून्य समयमा सांसदहरुले चाडपर्व नजिकिएका बेला भएको महँगी र बढ्दो डेँङ्गु सङ्क्रमण नियन्त्रणका लागि विशेष पहल गर्न सरकारसँग माग गरिएको छ ।
सांसदहरुले मुलुककका ७२ जिल्लामा डेँङ्गुको सङ्क्रमण देखिएको तर सरकार गम्भीर नभएकामा चिन्ता व्यक्त गर्दै आवश्यक पहलका लागि माग गर्नुभएको हो । सांसद मीनाकुमारी श्रेष्ठले डेँङ्गुको रोकथाम र नियन्त्रणका लागि पहल गर्न आग्रह गर्नुभयो ।
बैठकमा सांसद शक्तिबहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णालीका सबै जिल्लाका लागि सेटेलाइटका माध्यमबाट उपचार गराउन माग गर्नुभयो । सांसद शेरबहादुर तामाङले गत वर्षको मेलम्चीमा आएको बाढीबाट प्रभावितलाई अझै उचित राहत नदिइएकामा चिन्ता व्यक्त गर्नुभयो ।
बैठकमा सांसद बिमला विश्वकर्माले महँगी नियन्त्रण गर्न माग गर्नुभयो । सांसद डा. विन्दा पाण्डेले विश्वविद्यालयहरुको समस्याका विषयमा कार्यसूचीमा राखेर छलफल गर्न र सांसद लक्ष्मीकुमारी चौधरीले छाडा चौपायको व्यवस्थापन गर्न माग गर्नुभयो ।
–रासस
