काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद्ले डेंगु र महंगी नियन्त्रणका लागि पहल गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै एमाले सांसद् विनाकुमारी श्रेष्ठले देशका ७२ जिल्लामा डेंगु फैलिएकाले यसकाे नियन्त्रणमा सरकारकाे ध्यान जानुपर्ने बताउनुभयाे ।
काठमाडाैंकाे टेकु अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा डेंगु देखिएकाे,७२ जिल्लामा डेंगु फैलिएकाे, ललितपुर,रुपन्देही लगायत जिल्लामा बढी प्रभावित भएका उहाँकाे भनाइ छ । डेंगुबाट १ जनाकाे ज्यान समेत गएकाे घटना सार्वजनिक भएकाे भन्दै सांसद् श्रेष्ठले डेंगु भयानक रुप लिइ धेरैकाे ज्यान जान सक्ने जाेखिम रहेकाे बताउनुभयाे । उहाँले डेंगु थप फैलिन नदिने लामखुट्टे नियन्त्रण अभियानमा लाग्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
एमाले सांसद् विमला विश्वकर्माले पनि डेंगु नियन्त्रणका लागि पहल गर्न सरकारकाे गम्भीर ध्यानाकर्षण गराउनुभयाे । डेंगुका बिरामीले अस्पताल भरिएका भन्दै उहाँले जनताकाे स्वास्थ्यमा खेलवाड नगर्न चेतावनी दिनुभयाे ।
चाडपर्वकाे मुखमा पेट्राेलियम लगायत दैनिक उपभाेग्य वस्तुकाे मूल्य निक्कै बढेकाे भन्दै उहाँले मूल्यवृद्धि नियन्त्रण गर्न पनि सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
एमालेकै सांसद् विष्णु शर्माले काेभिड र डेंगुका बिरामीले फेरि महामारीकाे रुप लिने जाेखिम बढेकाे भन्दै उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । डेंगुका बिरामीले अस्पताल भरिँदा पनि सरकारले नसुनेजस्तै गरेकाे भन्दै सांसद् शर्माले आपत्ति जनाउनुभयाे । डेंगुका बिरामीकाे उपचार निशुल्क गराउन पनि उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
