काठमाडाैं । नेकपा एमालेका सांसद् गाेकुल बास्काेटाले प्रतिनिधि सभा र प्रदेश सभाकाे कार्यकाल थप्ने विधेयक खारेज गर्नुपर्ने माग गर्नुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयकमाथि संशोधन प्रस्ताव पेस गर्ने क्रममा सांसद् बास्काेटाले सरकारले अलाेकतान्त्रिक गतिविधि गरिरहेकाे भन्दै कडा आपत्ति जनाउनुभयाे ।
परमादेशी सरकारले जनताकाे लाेकतन्त्रलाई मुठिभित्र कैद गर्नेगरी संसद्काे आयु लम्बाउने विषय ल्याएकाे सांसद् बास्काेटाले बताउनुभयाे । निर्वाचन प्रक्रिया र मनाेनयन दर्ता सुरु भइसकेपछि संसद्काे आयु लम्बाउने कुरा लाेकतन्त्र र जनताप्रतिकाे अपमान भएकाे बताउँदै उहाँले भन्नुभयाे - 'याे लाेकतन्त्रलाई गिज्याउने कुरा हाे, जनताप्रति अपमान गर्ने कुरा हाे, जनताकाे जनमतलाई च्यालेञ्ज दिने कुरा हाे ।'
संसद्काे आयु बढाउने नाममा एमालेमाथि षड्यन्त्र गर्न खाेजिएकाे सांसद् बास्काेटाकाे आशंका छ । 'ठूल्ठूला कुरा सुनिए,राजीनामा दिएर हिँडेपनि हुन्छ,तपाइँहरुलाई चाहिएकाे के छ भने धर्तीमा एमाले खाली हाेस्, तपाइँहरु भुलाे उडाएर हिँड्न पाउनुस् एक्लै,तर हेक्का राख्नुस् त्याे कुरा सम्भव छैन,जुन षड्यन्त्रबाट याे सरकार बनेकाे छ त्यसका सम्पूर्ण अपराध कर्मलाई एमाले नभएर वैधानिकता दिउँला भन्ठान्नुभएकाे छ भन्ने कुरा बेल्लै हाे'-उहाँले भन्नुभयाे ।
साे विधेयक तत्काल फिर्ता हुनुपर्ने माग गर्दै सांसद् बास्काेटाले भन्नुभयाे - 'यसमा नेकपा एमालेकाे कुनै सहमति हुँदैन,कुनै कुराकाे मतलव छैन,फिर्ता लिनुपर्छ सबैभन्दा राम्राे कुरा यहि हाे ।' जनताले दिने आयुमा भराेसा नगर्ने बताउँदै बास्काेटाले प्रश्न गर्नुभयाे - 'जनताले दिने आयुमा भराेसा नगर्ने, गठबन्धन र षड्यन्त्र परमादेशी आदेशमा लाेकतन्त्रकाे दुहाइ दिन मिल्छ कि मिल्दैन ? '
जननताकाे बिचमा जाने कुरालाई प्रतिगमन देख्नेहरुले चुनाव घाेषणा भएपछि पनि बालुवाटारकाे अध्याराे काेठामा बसेर किस्ताबन्दीमा एउटा एउटा कुरा गर्ने कुरामा एमालेकाे घाेर आपत्ति रहेकाे उहाँकाे ठहर छ ।
काेही सांसद् लाेगाे लगाएर काेही सांसद् सामान्य नागरिक बनेर चुनावमा जान मिल्दै नमिल्ने बताउनुभयाे । मालिक र नाेकरकाे व्यवहार गर्नेगरी आएकाे विधेयक खारेज गर्नुपर्ने भन्दै सांसद् बास्काेटाले सरकारले खारेज नगरे जनताले खारेज गरिदिने चेतावनी दिनुभयाे ।
अरुबेला बालुवाटारमा बसेर चिया खान हुँदैन भन्नेहरुले अहिले गठबन्धनका बैठक दिनदिनै बालुवाटारमा बसिरहेकाे बताउनुभयाे । उहाँले प्रश्न गर्नुभयाे - 'अघिपछि त बालुवाटारमा बसेर चिया खान हुन्न भन्नुहुन्थ्यो, अहिले गठबन्धनको बैठक दिनदिनै गर्नुभएको छ, त्यहाँ चियाको पैसा कसले तिर्छ सभामुख महोदय ? नास्ताको पैसा कसले तिर्छ ? जनताकै करबाट तिरेको छ नि !'
धेरै फुर्ती नलगाउन समेत उहाँले गठबन्धनलाई चेतावनी दिनुभयाे । जनताकाे आवाजलाई चुनाैती दिने विधेयक कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी पनि उहाँले दिनुभयाे ।
