काठमाडाैं । गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित भएकाे छ ।
मंगलबार बिसेकाे प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल भएर निणयार्थ पेश गर्नु अगाडि संशोधन कर्तालाई फिर्ता लिने समय दिने क्रममा गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो ।
गणपुरक संख्या ६९ हुनुपर्नेमा ५८ मात्रै भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएकाे हाे ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि उठेका प्रश्नकाे जवाफ दिनुभएकाे थियाे ।
पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुअघि सभामुखले विधेयकमाथि संशाेधन प्रस्ताव पेस गर्नुभएका सांसद्लाई संशाेधन फिर्ता लिन समय दिनैलाग्दा नेमकिपा सांसद् प्रेम सुवालले गणपुरक संख्या नपुगेको भन्दै ध्यानाकर्षण गराउनुभयाे । लगत्तै सभामुख सापकोटाले संसद् सचिवालयका कर्मचारीलाई सांसद्को संख्या यकिन गर्न निर्देशन दिनुभयाे । ३ मिनेट घण्टी बजाएर सांसद् संख्या ५८ मात्रै भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित भएकाे जानकारी गराउनुभयाे ।
