काठमाडाैं । केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ प्रतिनिधि सभाबाट पारित भएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभाकाे दाेस्राे बैठकबाट साे विधेयक बहुमतले पारित भएकाे हाे । बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ पारित गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे ।
त्यसपछि सभामुख अग्निप्रसाद सापकाेटाले साे प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै साे विधेयक बहुमतले पारित भएकाे घाेषणा गर्नुभयाे ।बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेको दफा १३, १४ र १५ लाई हटाउने संशोधन स्वीकार गर्नुभयाे ।
पहिलाे बैठकमा मन्त्री शर्माले संशाेधन स्वीकार गरेर निर्णयार्थ पेस गर्नैलाग्दा गणपुरक संख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगित भएकाे थियाे ।
दफा १४ मा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गरी प्रतिनिधि सभाको कार्यकाल पहिलो बैठक बसेको दिनबाट गणना हुने र नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधि सभाको कार्यकाल स्वतः समाप्त भएको मानिने उल्लेख छ ।
दफा १५ मा प्रदेश सभाको कार्यकाल पहिलो बैठक बसेको दिनबाट गणना हुने र नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रदेशसभाको कार्यकाल स्वतः समाप्त हुने उल्लेख छ ।
चुनाव घोषणा भइसकेपछि पनि कार्यकाल लम्ब्याउन खोजिएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले संशाेधन स्वीकार गर्दै कार्यकाल लम्ब्याउने प्रस्तावबाट पछि हटेकाे हाे ।
