काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नेपाल मिडिया काउन्सिल विधेयक पारित गर्ने सरकारकाे तयारी छ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको 'नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
त्यसपछि साे विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । सञ्चार मन्त्री कार्कीले राष्ट्रिय सभाको सन्देशसहितको 'नेपाल मिडिया काउन्सिल विधेयक,०७६ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
बैठकमा राष्ट्रिय एमाले सांसद् भीम बहादुर रावलले जरुरी सार्वजनिक महत्वकाे प्रस्तावकाे विषयमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालकाे ध्यानाकर्षण गराउनुहुने कार्यसूची छ ।
उहाँले 'माथिल्लो कर्णाली जलविद्यतु आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र सम्बर्द्धन गर्न आवश्यक भएकोले' भन्ने जरुरी सार्वजनिक महत्वको विषयमाथि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीको ध्यानाकर्षण गर्नुहुने' कार्यसूची छ । साे ध्यानाकर्षणको सम्बन्धमा सांसद् यज्ञबहादुर बोगटी रराजबहादुर बुढाक्षेत्रीले स्पष्टीकरण माग गर्नुहुने संसद् सचिवालयले जनाएकाे छ ।
