काठमाडाैं । सभामुख अग्निप्रसाद सापकाेटा र फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलबीच भेटवार्ता भएकाे छ ।
सभामुख सापकाेटा र नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलबीच बिहीबार सिंहदरबारस्थित कार्यकक्षमा भेटवार्ता भएकाे सभामुखकाे सचिवालयले जनाएकाे छ ।
फ्रान्स-नेपाल संसदीय मैत्री समूहका अध्यक्ष एवं फ्रान्सका सिनेटर ड्यानियल साल्मन, एन क्याथरिन लुसर लगायतकाे टाेलीले सभामुखसँग भेट गरेकाे हाे ।
भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रिपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउनुभयाे । उच्चस्तरीय भ्रमणले साे सम्बन्धलाई गुणात्मकता दिने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको प्रशंसा गर्दै सभामुख सापकाेटाले फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गर्नुभयो । जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्ष रुपमा परिरहेको भन्दै सभामुख सापकाेटाले यसको मिलेर सामना गर्नुपर्ने दिनुभयो ।
भेटमा फ्रान्स-नेपाल संसदीय मैत्री समूहका अध्यक्ष ड्यानियलले नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न सबैले शक्ति लगाउनुपर्ने उहाँले बताउनुभयाे । नेपालले वातावणको क्षेत्रमा गरेको काम सह्रानीय रहेको ड्यानियलकाे भनाइ थियाे ।
