काठमाडाैं । राष्ट्रिय सभाका ४ वटा विषयगत समितिका नवनिर्वाचित सभापतिले शपथ लिनुभएकाे छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार सिंहदरबारमा नवनिर्वाचित चार समिति सभापतिलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएकाे छ ।
दिगो विकास तथा सुशासन समितिकाे सभापतिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थापा पार्वतीले शपथ लिनुभएकाे हाे ।
चारवटा विषयगत समितिका सभापतिको चुनावका लागि ४ जनाको मात्रै उम्मेदवारी परेपछि बिहीबार नै बसेको सम्बन्धित समितिको बैठकले चारैलाई निर्विरोध सभापति चयन गरेको थियो ।
शपथ ग्रहण समाराेहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला लगायत पनि सहभागी हुनुभएकाे थियाे ।
