काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएकाे छ ।
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलबीच बिहीबार सिंहदरबारस्थित कार्यकक्षमा भेटवार्ता भएकाे हाे । फ्रान्स-नेपाल संसदीय मैत्री समूहका अध्यक्ष एवं फ्रान्सका सिनेटर ड्यानियल साल्मन, एन क्याथरिन लुसर लगायतकाे टाेलीले राष्ट्रिय सभा अध्यक्षसँग भेट गरेकाे हाे ।
साे अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल-फ्रान्स मित्रतालाई सुदृढ बनाउन संसदीय मैत्री समूहले पुर्याएको योगदानको प्रशंसा गर्नुभयाे ।कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको उहाँले बताउनुभयाे । दुई देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले मित्रता, सद्भाव र आपसी समझदारीमा आधारित रहेको बताउनुभयाे ।
अध्यक्ष तिमिल्सिनाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको समर्थनको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गर्नुभयाे । कोभिड-१९ महामारीसँग लड्दा नेपाललाई फ्रान्सले गरेको चिकित्सा सहयोगका लागि पनि तिमिल्सिनाले धन्यवाद दिनुभयाे । दुई देशबीच व्यापार, पर्यटन र पूर्वाधारका क्षेत्रमा थप सहयोगको प्रशस्त सम्भावना रहेको अध्यक्ष तिमिल्सिनाकाे भनाइ थियाे ।
भेटमा फ्रान्स-नेपाल संसदीय मैत्री समुहका अध्यक्ष साल्मोनले नेपालमा गरिएको आतिथ्यतामा लागि आभार व्यक्त गर्नुभयाे । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले संयुक्त रुपमा प्रयास गर्नुपर्ने साल्मनकाे भनाइ थियाे । फ्रान्सले गरेको पर्यापर्यटन अभ्यासबारे जानकारी दिँदै उहाँले नेपालको लागि सो सम्बन्धमा सहयोग गर्न तत्पर रहेको बताउनुभयाे ।
