काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई राजीनामा दिन दबाब दिएकाे खुलासा गर्नुभएकाे छ ।
महाअभियाेग सिफारिस समितिमा आइतबार चाैथाे दिन बयान दिने क्रममा जबराले देउवा र प्रचण्डले राजीनामा दिएर सहजीकरण गरिदिन भन्दै सन्देश पठाएकाे बताउनुभयाे ।
'राजीनामा दिने हो भने हामी सहजीकरण गर्छौं, फिर्ता लिन्छौँ, एक डेढ महिना तपाइँ काम गर्नु, एक डेढ महिना दीपक कार्कीलाई दिए हुन्छ भनेर त पाेल्टीकल पार्टीका शीर्ष नेताले भने,काे नेताले भने त्याे पनि म भन्दिन्छु, एउटा साेध्याे भने नेपाली कांग्रेसकी डिना (डिना उपाध्याय) लाई साेधे हुन्छ, उहाँ मकहाँ आउनुभएकाे हाे, मैले प्रचण्ड जी र शेरबहादुर जीसँग सल्लाह गरेर आएकाे हाे,हामी फिर्ता लिन्छाैं तपाइँले मिलाएर राजीनामा दिए हुन्छ भन्नुभयाे'-चाेलेन्द्रकाे भनाइ छ ।
डिनाले क्वाटरमै आएर राजीनामा दिन भनेकाे भन्दै जबराले नपत्याए उहाँसँग साेध्न पनि आग्रह गर्नुभयाे ।
न्यायपालिकालाई ध्वस्त गर्न बनाउने नियतसाथ आफूमाथि महाअभियाेग लगाइएकाे जबराले बताउनुभयाे । आफ्नाे निलम्बन गैरकानुनी भएकाे समेत उहाँले बताउनुभयाे । गठबन्धन सरकारले आफूमाथि स्वार्थ राखेकाे,षड्यन्त्र गरेकाे र त्याे षड्यन्त्रमा सर्वाेच्च अदालतका न्यायाधीश फसेका पनि उहाँले बताउनुभयाे ।
आफूलाई कसरी हुन्छ बदनाम गर्ने नियत राखिएकाे पनि जबराले बताउनुभयाे । गुटबन्दी गरिएकाे भन्ने आराेप निराधार रहेकाे भन्दै उहाँले आफूले कहिले पनि गुटबन्दी नगरेकाे दाबी गर्नुभयाे । आफूले कुनै पनि न्यायाधीशलाई क्वाटारमा बाेलाएर छलफल नगरेकाे समेत जबराले बताउनुभयाे ।
