काठमाडाैं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद् खगराज अधिकारीले गठबन्धन सरकारले विकास आयाेजनामा गम्भीर षड्यन्त्र गरेकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् अधिकारीले प्रतिपक्षका सांसद्ले सिफारिस गरेका ठाउँमा सरकारले बजेट निकासा नगरेकाे बताउनुभयाे । उहाँले प्रतिपक्ष दलमाथि प्रतिशोध साँध्ने गरी बजेट निकासा दिने काम किन नगरेको भन्ने विषयमा तत्काल जवाफ दिन सरकारसँग माग गर्नुभयाे ।
उहाँले भन्नुभयाे - 'अघिल्लाे सरकारले १ सय ६५ वटा निर्वाचन क्षेत्रमै रणनीतिक महत्वका सडकहरु अगाडि बढाएकाे थियाे,आज ती सुषुप्त अवस्थामा छन् या राेकिएकाे छ ? प्रतिशाेध साँधिकन प्रतिपक्षका प्रतिनिधि सभा सदस्यले सिफारिस गरेका ठाउँमा बजेट निकासा नदिने र भइरहेका काम पूरा हुन नदिने काम गरिएकाे छ, अनेकाैं विकास आयाेजनामा समेत यस्ता खालका गम्भीर सरकारी षड्यन्त्र भएका छन् र विकास निर्माण ठप्प पारिएकाे छ, सरकारले यसकाे जवाफ दिनुपर्छ ।'
प्रतिशाेधकाे भावना सरकारले साँधेकै भए जनताले उचित जवाफ दिने चेतावनी पनि सांसद् अधिकारीले दिनुभयाे । सरकार विकास विराेधी करार बन्न नहुने उहाँकाे ठहर छ ।
