काठमाडौं । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले राजनीतिमा मौसमी कुरा वाञ्छनीय नहुने बताउनुभएको छ ।
शनिवार प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले अध्यक्ष समेत रहनुभएका ओलीले कुनै पनि कुरा थिति र विधि अनुसार चल्नु पर्ने बताउनुभयो । ‘कुनै पनि चिजको थिति विधि, कुनै पनि चिजको मर्यादा पछ्याउनु वाञ्छनीय हुन्छ’, उहाँले भन्नुभयो ।
आफू नेतृत्वको एमाले सरकारले एक वर्ष अघि चुनाव घोषणा गर्दा प्रतिगमन गरेको भन्ने देउवाले अहिले चुनाव घोषणा गर्दा पनि प्रतिगमन भएको भन्दै उहाँले व्यङ्ग्य गर्नुभयो । आफूले चुनाव घोषणा गर्दा कुनै व्यवस्था उल्टाउन नखोजेको उहाँले प्रष्ट पार्नुभयो ।
उहाँले संविधानको उल्लंघन गरेर परमादेश मार्फत सरकार बनाइएको बताउनुभयो । अहिले ती सबै कुरा छताछुल्ल भएको उहाँले टिप्पणी गर्नुभयो ।
आवश्यकता अनुसार निर्वाचन भएन र समय अनुसार निर्वाचन भएन भने त्यो प्रतिगमन हुने उहाँले बताउनुभयो । प्रतिगमन असंवैधानिक ढङ्गले परमादेश मार्फत सरकार बनाउनु हो, निर्वाचनमा जानु होइन, पहिले पनि होइन, अहिले पनि होइन’, ओलीले भन्नुभयो ।
