काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गठबन्धन सरकारले नागरिकता विधेयकमाथि राजनीति गरिरहेकाे बताउनुभएकाे छ ।
शनिबार बसेकाे प्रतिनिधि सभाकाे बैठकलाई सम्बाेधन गर्दै एमाले अध्यक्ष ओलीले सरकारले नागरिकता विधेयकलाई राजनीतिक फाइदाकाे विषय बनाएकाे बताउनुभयाे ।
आफू नेतृत्वको सरकारले सदन नचलेका बेला नेपाली जनतालाई नागरिकता दिनुपर्छ भनेर अध्यादेश ल्याएर समस्या समाधानको प्रयास गरेको बताउनुभयाे । तर त्यसलाई मुद्दा हालेर राेक्ने काम भएकाे बताउँदै अध्यक्ष ओलीले भन्नुभयाे - 'संसद् नभएका बेला नेपाली जनतालाई नागरिकता समस्याबाट मुक्ति दिनुपर्छ भनेर अध्यादेश ल्याएर अध्यादेशबाट नागरिकताकाे समस्या समाधान गर्न खाेजियाे,मुद्दा हाल्ने हाल्न लगाउने काम भए त्यसलाई राेकियाे ।
अध्यादेश राेक्नुपर्ने कुनै पनि संवैधानिक र कानुनी कारण नभएपनि राेक्ने काम गरिएकाे अध्यक्ष ओलीले बताउनुभयाे । अहिले नागरिकताकाे सम्बन्धमा राजनीति गर्न खाेजिएकाे बताउँदै उहाँले भन्नुभयाे - 'मैले केही दिनदेखि लगातार भनिरहेकाे छु,जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिइनेछ भन्ने मात्रै संशाेधन ल्याउनुस् न हामी उतिखेरै पारित गर्छाैं,तर सरकार कानमा तेलमा हालेर बस्याे ।'
जन्मसिद्धका नागरिकलाई एमालेले नागरिकता दिएन भने भ्रम फैलाइएकाे भन्दै अध्यक्ष ओलीले आपत्ति जनाउनुभयाे । उहाँले भन्नुभयाे - 'अध्यादेशबाट एेन ल्याएर ५-६ हजारलाई नागरिकता दिइसकेपछि राेकाउने एमाले हाे र ? त्याे त मुद्दा हलाउनेहरु नै हाेला नि,अनि अहिले एमालेले कमशेकम जन्मसिद्धका नागरिकले वंशजका आधारमा नागरिकता प्राप्त गर्नेछन् भन्ने एेन ल्याऔं भन्दा त्याे नगरेर चुप लागेर बसेर अनेक प्राेपाेगाण्डा मच्चाउने र त्यसलाई राजनीतिक फाइदाकाे विषय बनाउने कुरा किमार्थ उचित हुन सक्दैन् ।'
पछिल्लाे अवधिमा राज्यका सबै अंगहरु निष्प्रभावी अथवा आफ्ना लिकबाट पर हटेर चलिरहेका बताउनुभयाे । सरकारलाई मंसिर ४ मा जनताले जवाफ दिएपनि अरु निकायलाई त्यसरी जवाफ दिन नसक्ने अध्यक्ष ओलीले बताउनुभयाे । यी सबै कुरा लाेकतन्त्रलाई प्रणालीलाई कमजाेर पार्ने खालका रहेका उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'यी सबै कुरा लाेकतन्त्रलाई कमजाेर पार्ने खालका यस प्रणालीलाई कमजाेर पार्ने खालका,संविधानकाे मर्म भावना र त्यसकाे वास्तविक कार्यान्वयन प्रतिकूल असर पार्ने खालका,राष्ट्रिय हित,जनहित,प्रणालीकाे जनहित भन्दा बढी आफ्ना निहीत स्वार्थलाई केन्द्रभागमा राखेर काम भए जसप्रति दु:ख व्यक्त गर्दछु ।'
