काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता उपेन्द्र यादवले नेपालको संविधान पुनरावलोकन र परिमार्जन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै यादवले संविधान सबैले मरो हो भन्ने वातावरण नबनेको बताउनुभयो । प्रदेशको अधिकार, शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्याय प्रणाली, समावेशिता लगायतका विषयमा संविधान संशोधन गर्नु पर्ने उहाँले बताउनुभयो । ‘त्यसो हुन सकेन, यो दुर्भाग्यको कुरा हो’, यादवले भन्नुभयो ।
अहिले पनि प्रदेशलाई अधिकार विहीन बनाउने काम भएको उहाँले बताउनुभयो । कतिपय काम संविधान विपरीत भइरहेको उहाँले टिप्पणी गर्नुभयो । उहाँले देश संघीय गणतन्त्रमा गएको भनिए पनि व्यवहारमा त्यो हुन नसकेको बताउनुभयो । संविधानले कुनै पनि नेपाली नागरिकलाई नागरिकता विहीन बनाउन पाइँदैन भन्ने व्यवस्था गरिएको भए पनि अहिले पनि नेपाली आमा बाबुका र नेपालमा नै जन्मिएका सन्तानले नागरिकता नपाएको उहाँले बताउनुभयो ।
केपी ओली नेतृत्वको सरकाले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश नागरिकता दिने उद्देश्यले नल्याएको पनि उहाँले टिप्पणी गर्नुभयो । केही मधेसी नेतालाई भुलभुलैया पार्न सो अध्यादेश ल्याएको उहाँले बताउनुभयो । अहिले संघीय संसद्का दुवै सदनले पास गरेको नागरिकता संशोधन ऐन राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै उहाँले आलोचना गर्नुभयो ।
मधेस आन्दोलनका योद्धालाई लगाएको मुद्दा सरकारले फिर्ता नलिएको प्रति पनि उहाँले आलोचना गर्नुभयो । थरुहट आन्दोलनका नेता रेसम चौधरीलाई सरकारले अहिले पनि थुनामा राखेको प्रति उहाँले विरोध जनाउनुभयो ।
मुलुकमा भ्रष्टाचार माथिदेखि तलसम्म मौलाएको यादवले बताउनुभयो । अहिले मुलुकमा बेथिति र अस्तव्यस्त बढेको उहाँले बताउनुभयो । ‘भ्रष्टाचार माथिदेखि तल संस्थागत भएको छ, संगठित भएको छ र संरक्षित भएको छ, कमिसन तन्त्र लुटतन्त्र, अराजकता बढ्दै गएको छ’, यादवले भन्नुभयो ।
यादवले बैँकमा जाँदा पैसा नपाउने अवस्थामा आएको बताउनुभयो । देशको अर्थतन्त्र बरबाद भएको बताउँदै यादवले मुलुक दरिद्री करण तर्फ गएको बताउनुभयो ।
कानुनी झण्झटका कारण विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक नभएका उहाँले बताउनुभयो । मल, सिँचाइको अभावले जग्गा बाँझो बस्दै गएको उहाँले टिप्पणी गर्नुभयो । यी सबै कुरामा ध्यान नदिने हो भने समाजवाद उन्मुख समाजको कल्पना पनि गर्न नसकिने उहाँले टिप्पणी गर्नुभयो ।
