काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. बाबुराम भट्राईले नेपाली राजनीतिमा नेताहरू माथि सडकबाट गम्भीर आरोप लगेको बताउनुभएको छ ।
शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराईले सत्तामा पुग्नका लागि नेताहरूले जस्तोसुकै हर्कत गर्ने गरेको भन्ने आरोप लगेको बताउनुभयो । चुनाव जित्नका लागि अहिले दल बदल गर्ने दौडधुप चलेको भन्ने आरोप प्रति गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
न्यायपालिका कति खोक्रो भइसकेको रहेछ भन्ने कुरा अहिलेको महाभियोग प्रकरणले छर्लङ्ग भएको उहाँले बताउनुभयो । नेपाली नागरिकलाई नागरिकता दिने जस्तो सामान्य विषयमा समेत दलहरू विवादमा परेको भन्दै उहाँले आलोचना गर्नुभयो । नागरिकता विधेयक यता उता नगरी राष्ट्रपतिले प्रमाणीकरण गर्नु पर्नेमा उहाँले जाड दिनुभयो ।
सत्य निरूपण तथा बेपत्ता छानबिनको कुरा कुनै राजनीतिक दल विशेषको कुरा नभएको भन्दै उहाँले त्यसमा राजनीतिक सहमति हुन नसकेको प्रति आलोचना गर्नुभयो । सो विधेयक यो प्रतिनिधि सभाले पास गर्न नसकेको प्रति उहाँले दुःख व्यक्त गर्नुभयो ।
लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र समेटेको नक्सा संसदमा सहमतिबाट पास गरेर गौरवको काम गरिएको भए पनि सो जमिन फिर्ता लिने विषयमा कारबाही अघि नबढाएको भन्दै उहाँले सरकारको आलोचना गर्नुभयो । ‘कमसेकम लिम्पियाधुरा सर्वसम्मत ढङ्गले नक्सामा समावेश गर्यौँ, त्यो गर्वको कुरा हो ’
देशको सार्वभौम सत्ताको रक्षासँगै विकास र समृद्धिको यात्रा अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । विकास र समृद्धिको लागि विश्वका दुई ठूला राष्ट्र भारत र चीनसँग जोडिनु पर्ने उहाँले बताउनुभयो । दुई ठुला बजारसँग नजोडिएसम्म सोचे जस्तो विकास र समृद्धि हुन नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।
भट्टराईले राष्ट्रियता भनेको भूगोल मात्र नभएको बताउनुभयो । राष्ट्रियता भने जनता, विकास र समृद्धि सबै कुरा भएकोमा जोड दिनुभयो । त्यसैले त्यस तर्फ ध्यान दिनु पर्ने उहाँले बताउनुभयो ।
यही संविधान अन्तर्गत सांसद् बन्ने, यता उता चाहरेर मन्त्री बन्ने तर हामीले संविधान जलाएका हौँ, यो संविधान मान्दैनौ भन्ने भ्रम फैलाउने कुरा नगर्न पनि उहाँले आग्रह गर्नुभयो । ‘संविधान नमान्ने भए यहाँ किन आउनुभयो त ?’ भन्दै भट्टराईले प्रश्न गर्नुभयो ।
