काठमाडाैं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले संघीयता र नागरिकता विधेयकलगायतमा आफ्नो पार्टीको असहमति भए पनि वर्तमान संसद्को कार्यकाल सफल भएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा उहाँले नेपालको प्रादेशिक संरचना निर्माण गर्दा अनुत्पादक ठाउँमा लगानी भएको र मुलुक भ्रष्टाचारका जालोमा परेको तर्क गर्दै यसले आर्थिक अवस्था अस्तव्यस्त बन्दै गएको बताउनुभयो ।
उहाँले प्रादेशिक संरचना खारेज गर्नुपर्ने आफ्नो पार्टीको माग पूरा नभए पनि माग यथावत रहेको बताउनुभयो । उहाँले अब आउने नयाँ सरकारमा पनि पाँच वर्षको स्थिर सरकार बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
नागरिकताको विषयमा वंशज र अङ्गीकृता दिने व्यवस्थामा विधि र प्रक्रियाबाट मात्र दिइनुपर्छ भन्ने आफ्नो माग रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले नेपालको संविधानले व्यवस्था गरेको विधि र प्रक्रियाबाट आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन लागेको धारणा राख्नुभयो ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद् देश र जनताको हितमा प्रभावकारी हुन नसकेको टिप्पणी गर्दै कतिपय अवस्थामा संसद्लाई दुरुपयोग गरिएको समेत आरोप लगाउनुभयो ।
उहाँले मुलुकमा डेङ्गु रोगका कारण जनता पीडामा परिरहेको तर त्यसतर्फ सरकारको उचित ध्यान जान नसकेको भनाइ राख्नुभयो । साथै उहाँले मुलुकमा भूमि नहुनेलाई भूमि दिएमात्र भूमिसुधार हुने उल्लेख गर्दै भन्नुभयो, 'जोत्नेलाई भूमि दिएमात्र भूमिसुधार हुन्छ ।'
–रासस
