काठमाडाैं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेमाथि गम्भीर आराेप लगाउनुभएकाे छ ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठकलाई सम्बाेधन गर्दै नेता खनालले सर्वोच्च अदालतले २-२ पटक प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भने पनि एमालेलाई चेत नआएको आराेप लगाउनुभयाे । आगामी चुनावको परिणामले एमालेको चेत खुल्ने उहाँकाे आराेप छ ।
५ वर्षे कार्यकालकाे म्याण्डेड बाेकेकाे सरकार ४१ महिना पुग्दा-नपुग्दै ढल्नुको कारण प्रतिपक्षी दल नभइ एमाले आफैंले ढालेको आराेप समेत उहाँले लगाउनुभयाे ।
संविधान र संघीयता कार्यान्वयन जस्तो महत्वपूर्ण उपलब्धि संसद्को यो कार्यकालमा भएको र यो अवधिमा धेरै कानुन बनाउनुलाई पनि उपलब्धिका रुपमा हेरिनुपर्ने बताउनुभयाे ।
वर्तमान सरकार पाँच दलको साझा धारणामा बनेको भन्दै नेता खनालले बहुदलीय व्यवस्थामा दल मिलेर आफ्नो एजेण्डासहित सरकारमा सहभागी हुने बताउनुभयो ।
गठबन्धनको राजनीति सबैले गरिरहेकाले त्यसलाई नकारात्मक रुपमा लिन नमिल्ने पनि उहाँले बताउनुभयाे । ०७४ काे चुनावमा २ बामपन्थी दल मिलेर मात्र बहुमत आएकाे भन्दै नेता खलालले आगामी चुनावमा पनि कसैकाे एकल बहुमत नआउने बताउनुभयाे ।
मंसिर ४ काे चुनावमा एकल बहुमत ल्याउन व्यावहारिक कठिनाइ भएकाे बताउँदै उहाँले भन्नुभयाे - 'त्यसकारण दलहरु कुनै न कुनै रुपमा गठबन्धन गरिरहेका छन् ।'
नेपालमा संविधान जारी भएपछि भएको चुनावमा देशले ठूलो अपेक्षा राखेको भए तापनि अपेक्षाअनुसार कृषि, शिक्षा, स्वास्थ्य, उद्योग रोजगारसम्बन्धी विकास हुन नसकेको नेता खनालले बताउनुभयो ।
