काठमाडाैं । नेकपा एमालेका सांसद् भीम रावलले गृह जिल्ला अछामका पहिराे पीडितलाई तत्काल राहत तथा उद्धारको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएकाे छ ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठककाे सुरुमै बाेल्दै सांसद् रावलले जिल्लाका ठाउँमा अविरल वर्षाका कारण बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको हुँदा तत्काल उद्धार र राहतकाे व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयाे ।
अछामको कमल बजार, तुर्माखाँद र ढकारी गाउँपालिकामा शुक्रबार राति आएको पहिरोमा पुरिएर एक दर्जन बढीको ज्यान गएको र ठूलै धनमालको क्षति भएको उहाँले बताउनुभयाे । घाइतेहरुको तत्काल स्वास्थ्य उपचारको व्यवस्था गर्न र पीडितलाई राहतको लागि आवश्यक व्यवस्था तत्काल मिलाउन सांसद् रावलले सरकारसँग माग गर्नुभयाे ।
उहाँ हेलिकप्टरमार्फत लत्ताकपडा, खाना र घाइतेको उपचारका लागि सामान पुर्याउने काम गर्न उहाँले सरकारलाई आग्रह गर्नुभयो ।
एमाले सांसद् यज्ञबहादुर बोगटीले पनि सोही जिल्लाका बाढीपीडितको उद्धार र राहतका लागि तत्काल ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
