काठमाडाैं । सभामुख अग्निप्रसाद सापकाेटाले संविधान दिवसले राष्ट्रिय एकता कायम गर्न सबैलाई प्रेरणा दिने बताउनुभएकाे छ ।
संविधान दिवसकाे अवसरमा साेमबार शुभकामना दिँदै सापकाेटाले विवादलाई संवादमा रुपान्तरण गर्न, राष्ट्रिय एकता कायम गर्न र संविधानको निष्ठापूर्वक पालना गर्न दिवसबाट सबैलाई प्रेरणा मिल्ने उल्लेख गर्नुभएकाे छ ।
संविधानमा लिपिबद्ध हक अधिकार कार्यान्वयनका लागि पहलकदमी लिइरहन सम्पूर्ण नेपाली नागरिकलाई उहाँले आग्रह गर्नुभएकाे छ । सभामुख सापकाेटाले संविधान जारी भएपछि प्रतिनिधि सभाको पहिलो कार्यकाल पूरा हुने चरणमा रहेकाे र यस अवधिमा संविधान रक्षाका लागि अनेक पहल भएका उल्लेख गर्नुभएकाे छ ।
'हामीले लोकतन्त्रको संस्थागत विकासका लागि थुप्रै कार्यहरु सम्पादन पनि गरेका छौं, संविधानमा मूलभूत लोकतान्त्रिक मूल्य मान्यता समेटिएका छन्, यसबीचमा भएका कमीकमजोरी सच्याएर आगामी दिनमा हुने थप अभ्यासबाट संविधान समृद्ध हुँदै जाने नै छ'-उहाँले लेख्नुभएकाे छ ।
संविधानको अभ्यासकै क्रममा स्थानीय तहहरुले आफ्नो एक कार्यकाल पूरा गरी दोस्रो कार्यकाल प्रारम्भ गरिसकेका उल्लेख गर्दै सापकाेटाले लेख्नुभएकाे छ - 'प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो कार्यकालका लागि यही मंसिर ४ गते निर्वाचन हुँदैछ, संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरुले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता अझै विद्यमान छ ।'
जनताका प्रतिनिधिहरुले संविधान सभामार्फत् संविधान निर्माण गरी जारी भएको ७ बर्ष पूरा भएको सुखद अवसरमा उहाँले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवम् दाजुभाइहरुमा हार्दिक बधाई एवं शुभकामना पनि दिनुभएकाे छ ।
