काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले देशलाई सुशासन र समृद्धिकाे बाटोमा अघि बढाउन ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
चन्द्रलोक प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउन दलका नेताहरु चुकेका कारण जनतामा निराशा छाएको बताउनुभयाे ।
जनतामा रहेकाे निराशा हटाउन गम्भीर भएर देशलाई सुशासनको बाटोमा अघि बढाउन केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयाे । अध्यक्ष तिमिल्सिनाले भन्नुभयाे - 'परिवर्तनकाे लागि हामीले त्याग गर्याैं,अब देशलाई विकासकाे पथमा अगाडि बढाउन, सुशासनका लागि, न्यायका लागि,समानताका लागि त्याग गर्ने बेला आएकाे छ,याे कुरामा हामी नेता चुक्याैं कि ? त्यही भएर जनतामा निराश छाएकाे छ,त्यसैले यसमा ध्यान दिऔं ।'
देशलाई समृद्ध बनाउन र देशकाे विकास गर्न प्राकृतिक स्रोतको अधिकतम उपयोग गर्नुपर्ने सुझाव उहाँले दिनुभयाे । हिमाल पाइने जडिबुटीदेखि पहाडमा पाइने सिलाजित,खनिज, हरेक चिज नेपालमा पाइने अध्यक्ष तिमिल्सिनाले दिनुभयाे । मुस्ताङमा भएकाे युरेनियम र खाेलानालाकाे पानी प्रयाेग गर्ने भने देश धनी हुने उहाँले बताउनुभयाे ।
राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गरेर नै देशलाई अघि बढाउनुपर्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभयाे । हिजो गरेका त्यागको कुरा मात्रै गरेर आज केही नगर्ने प्रवृतिलाई पनि निरुत्साहित गर्नुपर्ने उहाँकाे सुझाव छ ।
नेपाल हरेक हिसाबले खुला विश्वविद्यालय रहेकाे समेत अध्यक्ष तिमिल्सिनाले बताउनुभयाे ।
