काठमाडाैं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश विकास र समृद्धितर्फ उन्मुख भएसँगै सेवा सुविधा स्वतः वृद्धि हुँदै जाने बताउनुभएको छ ।
संसद् सेवा दिवसका अवसरमा संघीय संसद् सचिवालयले मंगलबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले अहिले नै संसद् सचिवालयका कर्मचारीहरुको सेवा, सुविधा बढाउने कहीँ पनि ठाउँ नभएको बताउनुभयाे ।
देशको आर्थिक अवस्था सुधार भएसँगै सेवा सुविधा स्वतः वृद्धि हुँदै जाने उहाँले बताउनुभयाे । अध्यक्ष तिमिल्सिनाले देश परिस्थिति र आर्थिक अवस्थाका आधारमा कर्मचारीकाे सेवा सुविधासम्बन्धी विषय सम्बोधन हुँदै जाने बताउनुभयाे ।
सेवा गरेपछि सुविधा खोज्नु स्वभाविक भएपनि जनताको अवस्था पनि बुझ्न जरुरी रहेको बताउँदै उहाँले भन्नुभयाे - 'देश विकास र समृद्धितर्फ उन्मुख भएसँगै हाम्रा सेवा सुविधा स्वतः वृद्धि हुँदै जानेछ, गाँठो अर्थमा आएर जोडिएको छ, सेवा गरेपछि सुविधा खोज्नु स्वाभाविक भए पनि जनताको अवस्था पनि हामीले बुझ्न जरुरी छ ।'
विगतका भोगाइ र अहिलको आवश्यकताबीचको अन्तर पहिल्याउन जरुरी रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयाे ।
