काठमाडाैं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसद्हरूले पद तथा गाेपनियताकाे शपथ ग्रहण गरेका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको हलमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बिहीबार सांसद्हरूलाई शपथ गराउनुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य राप्रपा सांसद् जबरालाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो । सांसद्का रूपमा कामकारबाही सुरु गर्नु पहिले शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
केही सांसद्ले ईश्वरको नाममा र केहीले जनताको नाममा शपथ लिएका छन् । २६ जना सांसद्ले मातृभाषामा शपथ लिएका छन् । अरूले नेपाली भाषामा शपथ लिएका छन् ।
शपथसँगै संघीय संसद् सचिवालयले नवनिर्वाचित सांसद्हरुलाई सांसद्काे लाेगो पनि वितरण गरेको छ । शपथ ग्रहणका लागि सांसद्हरू आ-आफ्नो जातीय पहिचान झल्किने पोसाक लगाएर संसद् भवनमा पुगेका थिए ।
संघीय संसद्को प्रतिनिधि सभामा १ सय ६५ प्रत्यक्ष र १ सय १० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । प्रतिनिधि सभामा ८९ जना सांसद्सहित नेपाली कांग्रेस पहिलाे दल हो । ७८ सांसद्सहित एमाले दाेस्राे दल हाे ।
माओवादी केन्द्रबाट ३२, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २०, राप्रपाबाट १४, एकीकृत समाजवादीबाट १०, जसपाबाट १२ र जनमत पार्टीबाट ६ जना सांसद्ले प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट ३, लोसपाबाट ४, स्वतन्त्र ५, राष्ट्रिय जनमोर्चाबाट १ र नेमकिपाबाट १ जना सांसद्ले प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका छन् ।
