काठमाडाैं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको स्वागत तथा सम्मानमा संघीय संसद् सचिवालयले जलपान समारोहको आयोजना गरेको छ ।
नवनिर्वाचित सांसदहरूको शपथ सकिएलगत्तै नयाँ बानेवश्वरस्थित संसद् भवन परिसरमा सचिवालयले जलपान समारोह आयोजना गरेको हो ।
यसअघि प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।
नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।
शपथ समारोहको अगाडि संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले सबै नवनिर्वाचित सबै सांसदलाई स्वागत, बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो ।
महासचिव डा. गौतमले शपथपत्रमा हस्ताक्षर तथा संघीय संसद्को प्रतीक चिह्न ‘लोगो’ लगाउन आग्रह गर्नुभएको थियो ।
प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित एक सय १० गरी कुल दुई सय ६५ सांसद छन् ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन गत मंसिर ४ गते सम्पन्न भएको हो ।
–रासस
