कास्की । गण्डकी प्रदेश सभाका नवनिर्वाचित प्रदेश सभा सदस्यले शपथ ग्रहण गरेका छन् ।
प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बिहीबार ५९ जना प्रदेश सभा सदस्यलाई पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनुभएकाे हाे । बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग ज्येष्ठ सदस्यकाे शपथ लिनुभएका बस्यालले आज प्रदेश सभाका अरु सदस्यलाई शपथ गराउनुभएकाे हाे ।
५६ जना प्रदेश सभा सदस्यले नेपाली भाषामा शपथ लिएका छन् । सरस्वती गुरुङ र पञ्चराम गुरुङले गुरुङ भाषा तथा पार्वती तामाङले तामाङ भाषामा शपथ लिनुभएकाे छ ।
प्रदेश सभा सदस्यकाे शपथसँगै गण्डकीमा प्रदेश सरकार गठनकाे प्रकिया सुरु हुनेछ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र एकीकृत समाजवादीका १ सांसद् छन् ।
