काठमाडाैं । मधेस प्रदेश सभाको अधिवेशन पुस १८ गतेका लागि बोलाइएको छ ।
बिहीबार प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस १८ गते दिउँसो १ बजेका लागि प्रदेश सभाकाे अधिवेशन आह्वान गर्नुभएकाे हाे । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम मिश्रले अधिवेशन आह्वान गर्नुभएकाे प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।
बिहीबार नै बसेकाे प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेकाे थियाे । साेहीअनुसार प्रदेश प्रमुख मिश्रले अधिवेशन बाेलाउनुभएकाे हाे ।
१०७ सदस्य रहेकाे मधेस प्रदेश सभामा नेकपा एमालेबाट प्रत्यक्षमा १५ र समानुपातिक ८ गरी २३ सांसद् छन् । कांग्रेसबाट प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२, जसपाका प्रत्यक्षमा ९ र समानुपातिकमा ७ गरी १६, जनमत पार्टी प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३, लोसपाका प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी ९, माओवादी केन्द्रका प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी ८ सांसद् छन् ।
एकीकृत समाजवादीका प्रत्यक्षतर्फ ४ र समानुपातिकमा ३ गरी ७ जना सांसद् छन् । राप्रपा, संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १-१ जना समानुपातिक सांसद् छन् । ६ जना स्वतन्त्र सांसद्ले पनि मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्दैछन् ।
