काठमाडाैं । सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्यहरुले आज पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्दै छन् ।
ज्येष्ठ सदस्य मानबहादुर रावल (६८) ले दिउँसाे साढे १ बजे ५२ जना प्रदेश सभा सदस्यलाई शपथ ग्रहण गराउनुहुने प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
प्रदेश सभाका ज्येष्ठ सदस्य रावलले दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्नुहुनेछ । प्रदेश प्रमुखबाट शपथ लिएलगत्तै रावलले प्रदेश सभाका बाँकी सदस्यलाई शपथ गराउनुहुनेछ । सभामुख र उपसभामुख चयन नहुँदासम्म रावलले ज्येष्ठ सदस्यकाे हैसियतमा प्रदेश सभाकाे अध्यक्षता गर्नुहुनेछ ।
नागरिक उन्मुक्ति पार्टीका ५ र कांग्रेसका १ गरेर ६ जना सदस्यले मातृ भाषामा शपथ ग्रहणका लागि नाम टिपाउनुभएका छन् ।
५३ सदस्य रहेकाे सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ३, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद् छन् ।
