काठमाडाैं । सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले आज पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन् ।
ज्येष्ठ सदस्य मानबहादुर रावलले शुक्रबार दिउँसाे ५२ जना प्रदेश सभा सदस्यलाई शपथ ग्रहण गराउनुभएकाे हाे । ५ जना प्रदेश सभा सदस्यले मातृभाषामा र बाँकी सदस्यले नेपाली भाषामा शपथ लिएका छन् ।
शपथ लगत्तै प्रदेश सभा सदस्य सदस्यहरुले प्रदेश सभाकाे लाेगाे पनि लगाएका छन् । त्यसअघि ज्येष्ठ सदस्य रावलले शुक्रबार शुक्रबार दिउँसाे नै प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्नुभएकाे थियाे । दिउँसाे १ बजे प्रदेश प्रमुखबाट ज्येष्ठ सदस्यकाे शपथ लिएलगत्तै रावलले प्रदेश सभाका बाँकी सदस्यलाई शपथ गराउनुभएकाे हाे ।
सभामुख र उपसभामुख चयन नहुँदासम्म रावलले ज्येष्ठ सदस्यकाे हैसियतमा प्रदेश सभाकाे अध्यक्षता गर्नुहुनेछ ।
५३ सदस्य रहेकाे सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ३, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद् छन् ।
