सुदूरपश्चिम । पद तथा गोपनीयताको सपथ लिँदै गर्दा आज सुदूरपश्चिम प्रदेशसभाका सदस्य गीताकुमारी चौधरी हर्सित हुनुहुन्थ्यो ।
संघीय संरचनाअनुसार दोस्रो कार्यकालका लागि हालै भएको प्रदेश सभाको निर्वाचनमा कञ्चनपुर–२ बाट समानुपातिकतर्फ निर्वाचित उहाँ सपथ ग्रहणसँगै प्रदेशसभा सदस्यको जिम्मेवारीमा पुग्नु भएको हो । त्रिपन्न सदस्यीय प्रदेश सभामा ३२ वर्षीय उहाँ सबैभन्दा कान्छा हुनुहुन्छ ।
डगौरा थारु पहिरनको आकर्षक पहिरन र चम्किलो मुद्रामा सपथ ग्रहण गर्न आइपुग्नु भएकी गीतासँग अन्य कार्यकर्ता, आफन्त र शुभेच्छुकलाई प्रदेशसभा सचिवालय परिसरमा सेल्फी र सामूहिक तस्बीर लिन भ्याइनभ्याइ भइरहेको देखिन्थ्यो ।
'थारु समुदायको छोरीलाई सांसदमा पुर्याएकोमा पार्टी नेतृत्वलाई धन्यवाद दिन्छु,' नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित उहाँले भन्नुभयो, 'प्रदेश सभा सदस्यको जिम्मेवारीमा पुग्दा चुनौतीसँगसँगै अवसर पनि छ, आफूले थारु, दलित र महिलाको हकहितका लागि काम गर्नेछु ।'
नवनिर्वाचित प्रदेशसभाका सदस्यलाई ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावलले प्रदेश सभा भवन धनगढीमा आज सामूहिक रुपमा पद तथा गोपनीयतको सपथ ग्रहण गराउनुभयो । यस अघि ज्येष्ठ सदस्य रावललाई प्रदेश प्रमुख देवराज जोशीले प्रदेश प्रमुखको कार्यालयमा सपथग्रहण गराउनुभएको थियो । रावल कांग्रेसबाट प्रत्यक्षतर्फ अछामको प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
प्रदेश सभाको दोस्रो कार्यकालका लागि धेरै सदस्य नयाँ अनुहारका हुँदा सपथ ग्रहणस्थल बाहिर उपस्थित भएका सर्वसाधारणले निकै चासो पूर्वक कार्यक्रमको अवलोकन गरेका थिए । प्रदेशसभामा पहिलो पटक पाइला टेक्दै गरेका प्रदेशसभाका युवा सदस्यको जोश एवं उमङ्ग बेग्लै देखिँदा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित सदस्यले भने आफूलाई पहिलो कार्यकालको तुलनामा दोस्रो कार्यकालमा केही चुनौती थपिन्छ कि भन्ने अनुभव सुनाउनुभयो ।
अछामबाट प्रदेश सभामा दोस्रो पटक निर्वाचित नेकपा (माओवादी केन्द्र) का अक्कलबहादुर रावलले भन्नुभयो, 'प्रदेश सभाको औचित्य छैन, यो विघटन गर्नुपर्छ भन्ने सोच चिन्तन प्रवृत्तिलाई मत्थर पार्दै दोस्रो कार्यकाललाई सुदृढ र व्यवस्थित र जनमुखी बनाउन लाग्नैपर्छ ।' सदस्यको सपथ ग्रहणको अवलोकन गर्नुभएका धनगढीका धर्मराज भण्डारीले भन्नुभयो, 'पहिलो कार्यकालमा जनताको अपेक्षाअनुसार काम भएको त्यति देखिएन, दोस्रो कार्यकालमा अपेक्षा पूरा होला भन्ने आशा गरौँ ।'
सपथ लिएपछि प्रतिक्रिया दिनुहँदै नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य रामेश्वर चौधरीले थारु समुदायका माग र मुद्दालाई सरकारले न्यायोचित ढङ्गले सम्बोधन गर्नुपर्ने बताउनुभयो । “टीकापुर घटनाका राजबन्दी रिहाइ नभएसम्म कसैलाई सरकार बनाउनमा सहयोग गर्दैनाैं र सरकारमा सहभागी हुँदैनौँ”, प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेतासमेत रहेका चौधरीले भन्नुभयो, “राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुप¥यो ।”
संघीय संरचनाअनुसार भएको निर्वाचनपछि दोस्रो प्रदेशसभाका सांसदको सपथ ग्रहणसँगै प्रदेश सरकार गठनको बाटो खुलेको छ । नेपालको राज्य पुनः संरचनामा प्रदेशसभा गठन दोस्रो पटक भएको हो । सपथ ग्रहणसँगै यसले गर्ने काम पनि आजदेखि औपचारिक रुपमा सुरु भएको छ ।
थारु भाषामा सपथ
प्रदेश सभामा प्रतिनिधित्व गर्ने थारु समुदायका छ जनाले आफ्नो मातृ भाषामा सपथ लिनुभएको थियो । नेपालीमा लेखिएको सपथ पत्रलाई थारु समुदायका केही सांसदले आफ्नो मातृ भाषामा पढेर सपथ लिनुभएको हो । कस्तो छ प्रदेश सभा
त्रिपन्न सदस्यीय प्रदेशसभामा कांग्रेस सबैभन्दा ठूलो दल रहेको छ । कांग्रेसका १९ सदस्य हुनुहुन्छ । दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का ११ जना हुनुहुन्छ । यस्तै नेकपा (एमाले)का १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का चार र राप्रपा र स्वतन्त्र एक÷एक जना छन् । पहिलो प्रदेशसभामा दुई जनाको प्रतिनिधित्व रहेको कैलाली, कञ्चनपुरका आदिवासी रानाथारु समुदायको प्रतिनिधित्व दोस्रो कार्यकालमा शून्य भएको छ ।
प्रदेश सभामा खस आर्य समुदायका ४३, दलित समुदायबाट तीन, थारुका पाँच, आदिवासी÷जनजाती समुदायबाट दुई जनाको प्रतिनिधित्व रहेको छ । महिलाको प्रतिनिधित्व रहेका सबै १८ समानुपातिकबाट निर्वाचित हुनुभएको हो ।
सेती र महाकाली अञ्चलका नौ वटा जिल्ला रहेको यो प्रदेशको क्षेत्रफल १९ हजार पाँच सय ३९ वर्ग किमी रहेको छ । यो नेपालको क्षेत्रफलको करिब १३ प्रतिशत हो ।
यो प्रदेशमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पाश्चिम सेती जल विद्युत् आयोजनाजस्ता आयोजना विकासका उच्च सम्भावना बोकेका विकास आयोजना हुन् । अपि, साइपाल, खप्तडजस्ता हिमाली क्षेत्र, मध्यपहाडको महाभारत पर्वत श्रृङ्खलामा रहेका दुर्लभ जडीबुटी, वन पैदावार पनि विकास सम्भावना हुन् ।
धनगढी, भीमदत्तनगर (महेन्द्रनगर) दीपयालय, डडेलधुरा, टीकापुर, साँफेबगर, अत्तरिया, लम्की, बेलौरी यस क्षेत्रका मुख्य व्यापारिक केन्द्र हुन् । धान, गहुँ, जौँ, मकै र तेलहन बाली मुख्य रुपमा उत्पादन हुने यो क्षेत्रमा बाहुन, क्षेत्री, ठकुरी, थारु, दलितलगायत जातजातिको बाहुल्यता रहेको छ ।
–रासस
