काठमाडाैं । प्रदेश-१ काे प्रदेश सभाकाे पहिलाे बैठक आज बस्दै छ ।
मंसिर ४ गते सम्पन्न चुनावबाट निर्वाचित भएका सांसद्हरुकाे शपथ ग्रहण सकिएसँगै प्रदेश सभाकाे पहिलाे बैठक बस्न लागेकाे हाे । नवनिर्वाचित प्रदेश सभा सदस्यले पुस ११ गते शपथ लिएका थिए ।
मन्त्रिपरिषद्काे सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसाे १ बजे बस्नेगरी प्रदेश सभाकाे अधिवेशनआह्वान गर्नुभएकाे थियाे । साेही अनुसार पहिलाे बैठक बस्न लागेकाे हाे ।
पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य नेपाली कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले गर्नुहुनेछ । सभामुख र उपसभामुख चयन नहुँदासम्म उहाँले नै बैठककाे अध्यक्षता गर्नुहुनेछ ।
पहिलाे बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची रहेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । बैठकमा प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन समेत) लाई अंगीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुनेछ ।
प्रदेश-१ मा नेकपा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६,एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद् छन् । केन्द्रमा एमालेकाे पहलमा माओवादीले सरकारकाे नेतृत्व गरेकाले त्यसकाे प्रभाव प्रदेशमा पर्ने देखिन्छ ।
अहिलेकाे सत्ता गठबन्धनमा रहेकाे एमाले, माओवादी, राप्रपा र जसपा मिलेर प्रदेश-१ सरकार बनाउनेछन् । प्रदेश-१ मा सरकारकाे नेतृत्व एमालेले गर्ने बताइएकाे छ ।
