काठमाडाैं । लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले आज पद तथा गाेपनियताकाे शपथ लिएका छन् ।
नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले प्रदेशकाे स्थायी राजधानी दाङ देउखुरीस्थित प्रदेश सभा हलमा आइतबार शपथ लिएका हुन् । प्रदेश सभा सदस्यहरुलाई प्रदेश प्रमुख अमिक शेरचनलेले शपथ गराउनुभएकाे हाे ।
अन्य प्रदेशमा ज्येष्ठ सदस्यले सुरु प्रदेश प्रमुखबाट शपथ लिएर बाँकी सदस्यलाई आफूले शपथ गराएका थिए । तर लुम्बिनी प्रदेशमा प्रदेश सभा नियमावली नियम ४ बमोजिम प्रदेश प्रमुखले नै सबै सांसद्लाई शपथ गराउनुभएकाे हाे । शपथ लिएलगत्तै सांसद्हरुले प्रदेश सभाकाे लाेगाे पनि लगाएका छन् ।
८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका २९ सांसद् छन् ।नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३-३, राष्ट्रिय जनमोर्चा तथा एकीकृत समाजवादीका १-१ जना सांसद् छन् । एक स्वतन्त्र सांसद् पनि छन् ।
प्रदेश सभा सदस्यकाे शपथसँगै लुम्बिनीमा सरकार गठनकाे प्रक्रिया अघि बढ्नेछ । शपथ समाराेहमा मुख्यमन्ती कुलप्रसाद केसी, एमाले महासचिव तथा लुम्बिनीका संस्थापक मुख्य मन्त्री शंकर पोखरेल लगायत सहभागी हुनुभएकाे थियाे ।
