काठमाडाैं । लुम्बिनी प्रदेश सभाको पहिलाे अधिवेशन आजदेखि सुरु हुँदैछ ।
मंसिर ४ गते सम्पन्न चुनाववपछि लुम्बिनी प्रदेश सभाकाे पहिलाे अधिवेशनकाे पहिलाे बैठक आज दिउँसाे १ बजे बस्न लागेकाे हाे । लुम्बिनी प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यले आइतबार दाङकाे राप्ती उपत्यका देउखुरीमा शपथ ग्रहण गरेका थिए ।
मन्त्रिपरिषद्काे सिफारिसमा प्रदेश प्रमुख अमिक शेचरनले आज दिउँसाे १ बजे बस्नेगरी प्रदेश सभाकाे पहिलो अधिवेशन बाेलाउनुभएकाे थियाे । साेही अनुसार बैठक बस्न लागेकाे हाे ।
आज दुई वटा बैठक बस्ने कार्यसूची र प्रदेश सभा सचिवालयले जनाएकाे छ । पहिलाे बैठकमा जेष्ठ सदस्य डिल्लीराज भुसालले प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुखकाे पत्र पढेर सुनाउनुहुनेछ । त्यसपछि प्रदेश प्रमुख शेचरनले प्रदेश सभा बैठकलाई सम्बाेधन गर्नुहुनेछ ।
दोस्रो बैठकमा जेष्ठ सदस्य भुसालले 'लुम्बिनी प्रदेश सभा नियमावली, २०७९' पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुहुनेछ । साे प्रस्ताव पारित भएपछि प्रदेश सभाकाे कामकारबाही अगाडि बढ्नेछ । बैठकमा दलको तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्नुहुने कार्यसूची रहेकाे पनि प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
प्रदेश सभाकाे पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको चुनाव हुनुपर्छ । लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा एमालेकाे दाबी छ ।
८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका २९ सांसद् छन् । नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३-३, राष्ट्रिय जनमोर्चा तथा एकीकृत समाजवादीका १-१ जना सांसद् छन् । एक स्वतन्त्र सांसद् पनि छन् ।
