काठमाडाैं । मधेश प्रदेश सभाको पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ ।
मंसिर ४ गते सम्पन्न चुनावपछि मधेस प्रदेश सभाकाे पहिलाे अधिवेशनकाे पहिलाे बैठक आज बस्न लागेकाे हाे । मन्त्रिपरिषद्काे सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम (पुस १८) आजका लागि प्रदेश सभाकाे अधिवेशन बाेलाउनुभएकाे थियाे ।
बैठकमा प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुखकाे पत्र पढेर सुनाउने लगायत कार्यसूची रहेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । सभामुख र उपसभामुख चयन नहुँदासम्म बैठककाे अध्यक्षता ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले गर्नुहुनेछ ।
मधेश प्रदेश सभाका नवनिर्वाचित प्रदेश सभा सदस्यले पुस १५ गते शपथ लिइसकेका छन् ।
पहिलाे अधिवेशनकाे पहिलाे बैठक बसेसँगै सरकार गठन तथा सभामुख र उपसभामुख चयनकाे बाटाे खुल्नेछ । प्रदेश सभाकाे पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको चुनाव हुनुपर्छ ।
कुल १ सय ७ सदस्य रहेकाे मधेस प्रदेश सभामा नेकपा एमालेका २३, कांग्रेसका २२,जसपाका १६, जनमतका १३, लोसपा र माओवादीका ९-९ र एकीकृत समाजवादीका ७ सांसद् छन् । संघीय समाजवादी पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका १-१ जना सांसद छन् । ५ जना स्वतन्त्र सांसद् छन् ।
