काठमाडाैं । सुदूरपश्चिम प्रदेश सभाको पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ ।
मंसिर ४ गते सम्पन्न चुनावपछि सुदूरपश्चिच प्रदेश सभाकाे पहिलाे अधिवेशनकाे पहिलाे बैठक आज दिउँसाे १ बजे बस्न लागेकाे हाे । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख देवराज जाेशीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएकाे थियाे ।
आजकाे पहिलाे बैठकमा अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुखकाे पत्र पढेर सुनाउने लगायत कार्यसूची रहेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । पहिलाे बैठक बसेसँगै नयाँ सरकार गठन तथा सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्ने छ ।
पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुनुपर्छ । सभामुख र उपसभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य मानबहादुर रावलले ज्येष्ठ सदस्यकाे हैसियतमा प्रदेश सभाकाे अध्यक्षता गर्नुहुनेछ ।
५३ सदस्य रहेकाे सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ३, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद् छन् । नवनिर्वाचित प्रदेश सभा सदस्यले पुस १५ गते शपथ लिइसकेका छन् ।
यस्तै कर्णाली प्रदेश सभाकाे अधिवेशन पनि आजदेखि सुरु हुँदैछ । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सरकार मन्त्रिपरिषद्काे सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले अधिवेश आह्वान गर्नुभएकाे हाे ।
प्रदेश सभा भवन वीरेन्द्रनगरमा दिउँसाे १ बजे बस्ने बैठकमा अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुखकाे पत्र पढेर सुनाउने लगायत कार्यसूची रहेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
पहिलाे बैठक बसेसँगै नयाँ सरकार गठन तथा सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्ने छ । पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुनुपर्छ ।सभामुख र उपसभामुख निर्वाचित भएर नआउँदासम्म ज्येष्ठ सदस्य विनोदकुमार शाहले प्रदेश सभा बैठक सञ्चालन गर्नुहुनेछ ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १-१ जना र स्वतन्त्र १ जना सांसद छन् । नवनिर्वाचित प्रदेश सभा सदस्यले पुस ११ गते शपथ लिइसकेका छन् ।
