काठमाडाैं । वाग्मती प्रदेश सभाकाे पहिलाे अधिवेशन आजदेखि सुरु हुँदैछ ।
मंसिर ४ गते सम्पन्न चुनावपछि वाग्मती प्रदेश सभाकाे पहिलाे अधिवेशनकाे पहिलाे बैठक आज दिउँसाे १ बजे बस्न लागेकाे हाे । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएकाे थियाे ।
आजकाे पहिलाे बैठकमा अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुखकाे पत्र पढेर सुनाउने लगायत कार्यसूची रहेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । त्यसअघि सर्वदलीय बैठक बस्दैछ ।
पहिलाे बैठक बसेसँगै नयाँ सरकार गठन तथा सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्नेछ । पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुनुपर्छ । सभामुख र उपसभामुख चयन नहुँदासम्म रामप्रसाद ढुंगानाले ज्येष्ठ सदस्यकाे हैसियतमा प्रदेश सभाकाे अध्यक्षता गर्नुहुनेछ ।
११० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन् । नवनिर्वाचित सांसद्ले पुस १४ गते शपथ लिइसकेका छन् ।
उता गण्डकी प्रदेश सभाकाे पहिलाे बैठक पनि आजै बस्दैछ । मंसिर ४ गते सम्पन्न चुनावपछि वाग्मती प्रदेश सभाकाे पहिलाे अधिवेशनकाे पहिलाे बैठक आज दिउँसाे १ बजे बस्न लागेकाे हाे । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएकाे थियाे ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र एकीकृत समाजवादीका १ सांसद् छन् । नवनिर्वाचित प्रदेश सभा सदस्यले पुस १४ गते शपथ लिइसकेका छन् ।
