काठमाडाैं । वाग्मती प्रदेश सभाका सभामुख र उपसभामुखकाे चुनाव पुस २९ गते हुने भएकाे छ ।
साेमबार बसेकाे प्रदेश सभाकाे पहिलाे बैठकले सभामुख र उपसभामुखकाे चुनावकाे मिति तय गरेकाे हाे । प्रदेश सभाकाे सभामुख चयनका लागि पुस २९ गते शुक्रबार बिहान ११ बजे चुनावकाे मिति ताेकिएकाे ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले बैठकमा जानकारी दिनुभयाे ।
प्रदेश सभा नियमावाली पहिलो संशोधन २०७४ को नियम ११ उपनियम १ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न उर्मिला नेपाल, भारती पाठक, ठाकुर प्रसाद ढकाल, लक्ष्मी घिमिरे, राजेन्द्रमान श्रेष्ठलाई मनोनित गरिएकाे ढुंगानाले जानकारी दिनुभयाे ।
बैठकले प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) लाई अंगिकार गरी बैठक सञ्चालन गर्ने प्रस्ताव बहुमतले पारित गरेकाे छ । बैठकमा सरकारले विभिन्न ५ वटा अध्यादेश पेस गरेकाे छ ।
बैठकमा सरकारकाे तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण प्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ पेस गर्नुभयाे ।
संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश पेस गर्नुभयाे । कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ पेस गर्नुभयाे ।
प्रदेश सभाकाे पहिलाे अधिवेशनकाे पहिलाे बैठकमा प्रदेश सभामा नेतृत्व गर्ने दलका नेताहरुले बाेलेका थिए । बैठक पुस २९ गते बस्नेगरी स्थगित भएकाे छ ।
