काठमाडाैं । लुम्बिनी प्रदेश सभाकाे दाेस्राे कार्यकालकाे पहिलाे अधिवेशन सुरु भएकाे छ ।
मंसिर ४ गते सम्पन्न चुनावपछि साेमबार प्रदेश सभाकाे पहिलाे बैठक बसेकाे छ । स्थायी राजधानी दाङ देउखुरीमा सुरु भएकाे अधिवेशनकाे पहिलाे दिन नै दुई वटा बैठक सम्पन्न भएका छन् । प्रदेश सभाका जेष्ठ सदस्य डिल्लीराज भुसालले दुबै बैठककाे अध्यक्षता गर्नुभएकाे थियाे ।
पहिलाे बैठकमा प्रदेश सभा बैठक आह्वान सम्बन्धी प्रदेश प्रमुख अमिक शेरचनले पठाउनुभएकाे पत्र ज्येष्ठ सदस्य भुसालले वाचन गरेर सुनाउनुभएकाे थियाे । पहिलाे बैठकलाई प्रदेश प्रमुख शेरचनले सम्बाेधन गर्नुभएकाे थियाे ।
आजै बसेकाे दाेस्राे बैठकले 'लुम्बिनी प्रदेश सभा नियमावली, २०७९' पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेकाे छ । साेही नियमावलीको आधारमा प्रदेश सभाले आफ्नाे काम कारबाही अगाडि बढाउनेछ ।
दाेस्राे बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताले शुभकामना मन्तव्य राखेका थिए । एमाले संसदीय दलका नेता लीला गिरी, कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी र माओवादी संसदीय दलका नेता जोखबहादुर महराले सम्बाेधन गर्नुभएकाे थियाे ।बैठकमा राप्रपाका आशिषकुमार चौधरी, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाका सन्तोषकुमार पाण्डेय, जनमतका चन्द्रकेश गुप्ता, जसपाका भण्डारीलाल अहिर, एकीकृ समाजवादीकी भगवती अधिकारी र राष्ट्रिय जनमोर्चाले तारा थापाले सम्बाेधन गर्नुभएकाे थियाे ।
याेसँगै लुम्बिनीमा नयाँ सरकार गठन तथा सभामुख र उपसभामुख चयनकाे बाटाे खुलेकाे छ । प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेश सभाका सभामुख र उपसभामुखको चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ । संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको चुनाव हुनुपर्छ । लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा एमालेकाे दाबी छ ।
प्रदेश सभाकाे अर्काे बैठक माघ ३ गते बस्ने ज्येष्ठ सदस्य भुसालले जानकारी गराउनुभयाे । साेही दिन नै सभामुख र उसभामुख चयनकाे प्रक्रिया थालिने उहाँले बताउनुभयाे ।
८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका २९ सांसद् छन् । नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३-३, राष्ट्रिय जनमोर्चा तथा एकीकृत समाजवादीका १-१ जना सांसद् छन् । एक स्वतन्त्र सांसद् पनि छन् ।
