काठमाडाैं । गण्डकी प्रदेश सभाकाे दाेस्राे कार्यकालकाे पहिलाे अधिवेशन सुरु भएकाे छ ।
मंसिर ४ गते सम्पन्न चुनावपछि साेमबार प्रदेश सभाकाे पहिलाे बैठक बसेकाे छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकार मन्त्रिपरिषद्काे सिफारिसमा आजका लागि पहिलाे अधिवेशन आह्वान गर्नुभएकाे थियाे ।
बैठककाे सुरुमा ज्येष्ठ सदस्य मित्रलाल बस्यालले अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुखकाे पत्र पढेर सुनाउनुभएकाे थियाे ।
अधिवेशनको पहिलो बैठकले गण्डकी प्रदेश सभा नियमावली, २०७९ पारित गरेकाे छ । बस्यालले प्रदेश सभाको काम कारबारहीलाई नियमित गर्न गण्डकी प्रदेश, प्रदेश सभा नियमावली, २०७४ लाई स्वीकार गर्न प्रस्ताव पेस गर्नुभएकाे थियाे । साे प्रस्तावलाई बैठकले पारित गरेकाे हाे ।
बैठकमा दुई वटा अध्यादेश पनि पेस भएका छन् । कानुन मन्त्री बिन्दुकुमार थापाले गण्डकी प्रदेशको निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ बैठकमा पेस गर्नुभयाे । मन्त्री थापाले नै स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश,२०७९ बैठकमा पेस गर्नुभयाे ।
बैठककाे अध्यक्षता ज्येष्ठ सदस्य बस्यालले गर्नुभएकाे थियाे । सभामुख र उपसभामुख चयन नहुँदासम्म बस्यालले नै बैठककाे अध्यक्षता गर्नुहुनेछ ।गण्डकी प्रदेश सभाको अर्को बैठक पुस २९ गतेका लागि बाेलाइएकाे छ ।
प्रदेश सभाकाे पहिलाे बैठक बसेसँगै सरकार गठन तथा सभामुख र उपसभामुख चयनका लागि बाटाे खुलेकाे छ । प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेश सभाका सभामुख र उपसभामुखको चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ । संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको चुनाव हुनुपर्छ । गण्डकीकाे मुख्यमन्त्रीमा एमालेकाे दाबी छ ।
