काठमाडौं । संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे अधिवेशन आजदेखि सुरु हुँदैछ ।
गत मंसिर ४ गते सम्पन्न चुनावपछि संघीय संसद्काे पहिलो अधिवेशनकाे पहिलाे बैठक आजदेखि सुरु हुन लागेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसाे १ बजेका लागि दुवै सदनको बैठक आह्वान गर्नुभएकाे थियाे । साेहीअनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक एकै समयमा सुरु हुँदैछ । चुनावको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन आरम्भ गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिनिधि सभाकाे पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य राप्रपाका पशुपतिशमशेर जबराले गर्नुहुनेछ । पहिलो बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् । प्रतिनिधि सभामा १२ दलको प्रतिनिधित्व छ ।
संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभा बैठकमा ज्येष्ठ सदस्य जबराले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउनुहुनेछ । उहाँले प्रधानमन्त्री चयन र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रकाे व्यहाेरा पनि पढेर सुनाउनुहुनेछ ।
बैठक यसअघिकै प्रतिनिधि सभाको नियमावलीअनुसार सञ्चालन हुनेछन् । पहिलो बैठकबाट प्रतिनिधि सभा नियमावली २०७५ लाई पुनः अनुमोदन गराइनेछ ।
सभामुखकाे अनुपस्थितिमा बैठककाे अध्यक्षता गर्न सदस्यहरुकाे मनाेनयन गरिने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ । त्यसपछि दलका नेताहरुले सम्बाेधन गर्नेछन् ।
बैठकमा संविधानसभाका सदस्य बालकृष्ण ढुंगेल र झुलबहादुर आले तथा प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका पूर्व सदस्य मैयादेवी श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित हुनेछ ।
बैठकमा ज्येष्ठ सदस्य जबराले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रस्तावबारे जानकारी गराउनुहुनेछ । प्रधानमन्त्रीले भाेलि पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासकाे मत लिँदै हुनुहुन्छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस १० गते १ सय ६९ सांसद्को समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । पुस ११ गते उहाँले शपथ लिनुभएकाे थियाे ।
नेपालको संविधानको धारा ७६ को उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
राष्ट्रिय सभामा पनि अधिवेशन आह्वानसम्बन्धी पत्र र प्रधानमन्त्री नियुक्त सम्बन्धी पत्रको बेहोराबारे जानकारी गराइनेछ । राष्ट्रिय सभाले पनि शाेक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।
