गण्डकी । गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता खगराज अधिकारी प्रदेश सभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुहुने बताइएको छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि दिएको पाँच दिनको समयसीमा आज बेलुका ४ बजे सकिँदैछ । एमालेका प्रदेश सभा सदस्य गोविन्दबहादुर नेपालीले तोकिएको समयसीमाभित्रै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरिने बताउनुभयो ।
'बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न हामी तम्तयार अवस्थामा छौँ', उहाँले भन्नुभयो, 'अहिले गठबन्धन दलका ३२ सदस्यको समर्थन छ, विश्वासको मत लिने बेलासम्म संख्या अझ बढ्न सक्छ ।' प्रदेश सभामा गठबन्धन दलतर्फ एमालेको २२, नेकपा (माओवादी केन्द्र) को आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई सिट छ । जुन सरकार गठनका लागि बहुमत सङ्ख्या हो । प्रदेश सभाका कूल ६० सिटमध्ये नेपाली कांग्रेससँग २७ र नेकपा (एकीकृत समाजवादी)सँग एक सिट छ ।
प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्य मुख्यमन्त्रीमा नियुक्त हुने संवैधानिक व्यवस्था छ । सत्तारुढ दलहरुबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटको टुंगाे लागेसँगै गण्डकीमा एमालेबाट अधिकारी मुख्यमन्त्री बन्ने पक्कापक्की भएको हो ।
नेता अधिकारी कास्की १ (१) बाट निर्वाचित हुनुभएको थियो । ०७४ मा कास्की १ बट निर्वाचित भएर संघीय ससंद्मा प्रतिनिधित्व गर्नुभएका अधिकारी ०७८ वैशाख ३१ मा केपी शर्मा ओली नेतृत्वमा गठित सरकारको गृहमन्त्री बन्नुभएको थियो ।
दोस्रो संविधानसभाको निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकारमा उहाँले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । कास्कीको लेखनाथमा ०१८ चैत २५ मा जन्मनुभएका अधिकारी विद्यार्थी राजनीति हुँदै सक्रिय राजनीतिमा होमिनुभएको थियो ।
०४० मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति हुँदै अनेरास्ववियु केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारीमा पुग्नुभएको थियो । राजनीतिक मुद्दामा पटकपटक बन्दी जीवन बताउनुभएका अधिकारी एमाले कास्कीको अध्यक्षसमेत बन्नुभएको थियो । अधिकारीको संसदीय यात्रा विसं २०५१ देखि सुरु भएको थियो ।
उहाँ पार्टीको सचेतक, पोलिटब्यूरो सदस्य, गण्डकी प्रदेश संयोजक हुँदै अहिले स्थायी कमिटी सदस्य हुनुहुन्छ । अधिकारी एमालेको सङ्गठन विभाग प्रमुखसमेत हुनुहुन्छ । एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाकालमा उहाँले केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सह–इञ्जार्चको जिम्मेवारी पाउनुभएको थियो ।
–रासस
